भोजपुर : भोजपुरको षडानन्द नगरपालिका २, कुदाककाउलेको ताबुमा रहेको करिब सवा दुई करोड बराबरको रुद्राक्ष एक अज्ञात समुहले लुटेर लगेका छन् । शुक्रबार बिहान करिब ५ बजेतिर अन्दाजी ७ ८ जनाको अज्ञात समुहले स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर बीरबल राईले साझेदारीमा लगाएको करिब २ करोड १५ लाख मूल्य बराबरको रुद्राक्ष चोरी गरेर भागेको जनाईएको छ । जग्गाको सिमाना साझेदारीमा भएकाले दुबैजनाले लगाएको उक्त रुद्राक्षको बगानलाई एकवर्ष अघि षडानन्द नगरपालिका ३, खार्तम्छाका अगमसिं राईले ३ वर्षका लागि ३० लाख रुपैँयामा ठेक्कामा लिएका थिए । रुद्राक्ष बगानमा चारजना हेरालु राखेको भएपनि अज्ञात समुहले उनीहरुमाथि कुटपिट गरि रुद्राक्षका डाला काट्दै, भाँच्दै रुद्राक्ष लुटेर लगेको बगानका हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले सुनाए ।
अज्ञात समुहले बगानको सबैभन्दा राम्रो मुखादार र फलेको रुद्राक्ष लुटेर लगेको अर्का हेरालु षडानन्द नगरपालिका ६, केउरेनीपानीका कुबेर राईले बताए । उनका अनुसार ती हतियारधारी अज्ञात समुहले प्रतिगोटा एक लाख रुपैँया पर्ने रुद्राक्षको बोटको हाँगा नै काटेर लुटेर लगेका छन् । रुद्राक्ष लुट्ने समुहले उनीहरुको साथमा रहेको बन्दुकको कुञ्जोले कुटपिट गरेको उनले बताए । मेयर राई र तामाङले करिब ३ सय रोपनी जग्गामा लगाएको रुद्राक्षमध्ये सबैभन्दा बढि फलेको र राम्रो बोटको सबै रुद्राक्षका दाना चोरी भएको बताए ।
ईलाका प्रहरी कार्यालय दिङलाका अनुसार हातहतियारसहित आएका अज्ञात समुहले रुद्राक्षका रेखदेख गर्न बसेका दुईजना हेरालुलाई नियन्त्रणमा लिएर रुद्राक्ष लुटेर लगेको जनाईएको छ । उक्त समुहले राम्रो बोटको सबै रुद्राक्ष लुटेर घटनास्थलदेखि पश्चिम छिमेकी जिल्ला खोटाङको सिमानातिर भागेको हुन सक्ने ईलाका प्रहरी कार्यालय दिङ्लाका ईन्सपेक्टर सञ्जिव ओलीले जनाए । घटनापश्चात ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी कुदाककाउलेबाट २० जनाको प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । घटनाको पूर्ण विवरण, थप अनुसन्धान र उक्त अज्ञात समुहको खोजी कार्य भईरहेको उनले बताए । मेयर राईले लुटपाटपछि जिल्ला प्रहरी कार्यालय भोजपुरमा आएर किटानी जाहेरी दिएको जनाईएको छ ।