नेपाल राष्ट्र बैंकले आजदेखि काठमाडौं उपत्यकामा बैंक सञ्चालनमा थप कडाई गरेको छ। कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै राष्ट्र बैंकले उपत्यकाका जिल्लामा बैंकका थोरै शाखामात्र सञ्चालन गर्न निर्देशन दिएको हो।
राष्ट्र बैंकका अनुसार आज (मंगलबार) देखि ‘ख’ वर्गका विकास बैंकहरूले काठमाडौंमा दुई, ललितपुर र भक्तपुरमा एकएक शाखा मात्र खोल्न पाउनेछन्। ‘ग’ वर्गका वित्त कम्पनीले भने उपत्यकाका तीनवटै जिल्लामा एक÷एक वटा शाखा मात्र खोल्न पाउने राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र खुला रहने समयको जानकारी समेटिएको सूचना भने दैनिक रूपमा वेबसाइटमार्फत प्रकाशन गर्नुपर्नेसमेत राष्ट्र बैंकले जनाएको छ।