सेयर बजारमा पछिल्ला केही दिनयता लगातार १० अर्ब रुपैयाँभन्दा माथिको सेयर कारोबार भइरहेको छ। पछिल्लो ३ दिनमा लगातार ११ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
जेठ महिनामा सेयर किनबेच भएको ८ कारोबार दिनमा मात्रै झण्डै ९० अर्ब रुपैयाँ हाराहारीको सेयर कारोबार भएको छ। अर्थात दैनिक औसतमा पनि ११ अर्ब रुपैयाँको सेयर किनबेच भएको यो तथ्यांकले देखाउँछ।
मंगलबार नेप्से सूचक ६ अंकले घटेर २८१६ बिन्दुमा झरेको छ। २१६ कम्पनीको २ करोड ३५ लाख कित्ता सेयर एक लाख १२ हजार पटक किनबेच भएका छन्। बजार ६ अंकले घटेपनि वरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो, युनिभर्सल पावर र घलेम्दी हाइड्रोको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।
मल्टिपर्पोज फाइनान्सको सेयर मूल्य ३ प्रतिशतले घट्दा, मितेरी विकास बैंक, नेपाल फाइनान्स, सेन्चुरी कमर्सियल बैंक र शाइन रेसुंगा विकास बैंकको सेयर मूल्य २/२ प्रतिशतले घटेको छ।
अरुण काबेली पावरको सर्वाधिक करिब ३४ करोड रुपैयाँको सेयर किनबेच हुँदा एसियन लाइफको ३३ करोड, एचआइडीसीएलको ३० करोड, सुर्या लाइफको २९ करोड र नेशनल लाइफको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।