६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

प्रधानमन्त्री र प्रधानन्यायाधीशको समाचार लेख्ने पत्रकारलाई माफी माग्न सर्वोच्चले बोलायो



काठमाडौं । प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेटको समाचार लेख्ने सञ्चार माध्यमका सम्पादकलाई सर्वोच्च अदालतले स्रोत खुलाउन र माफी माग्न आग्रह गरेको छ । मंगलबार दिउँसो समाचारको विषयमा छलफल गर्न बोलाएर सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले स्रोत पुष्टि गर्न र माफी माग्न आग्रह गरेका इमेज च्यानलका सम्पादक राजन कुइँकेलले बताए । ‘समाचारको स्रोत आधार प्रमाणसहित पेश गर्न र क्षमा माग्न आग्रह गर्नुभयो, हामीले दुबै कुरा हुन सक्दैन, यो कल्पना भन्दा बाहिरको कुरा हो, यो संस्थाबाट त्यस्तो माग हुनु नै दुखद कुरा हो भन्यौं’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेट भएको भनी समाचार लेखेको विषयलाई लिएर सर्वोच्चले नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृत र इमेज च्यानलका सम्पादक कुइँकेललाई बोलाएको थियो । उनीहरुसँगै नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी पनि सर्वोच्च पुगेका थिए ।

नेपाल समय डटकमका प्रधानसम्पादक नारायण अमृतले समाचारको विषयलाई लिएर माफी माग्न आग्रह गरेका र आफूहरुले अस्वीकार गरेको बताए । हामीले माफी मागिन्न, हाम्रो समाचारमा हामी अडिग छौं, तपाईंहरु खण्डन पठाउनुस्, विधि पद्धति र प्रक्रियाले जे भन्छ हामी त्यही गर्छौं भन्यौं’ उनले भने । छलफलपछि रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको मर्यादा, संवेदनशीलतामा ध्यान पु¥याइदिन आग्रह गरेका र आफूहरुले संस्थाको मर्यादामा असर पु¥याउने उद्देश्य नराखेको बताएको इमेजका सम्पादक कुइँकेलले बताए ।

 


प्रतिक्रिया दिनुहोस !