१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोरोना भाइरसको उत्पतिबारेको अध्ययन पारदर्शी बनाउन डब्लुएचओलाई अमेरिकाको सुझाव



अमेरिकाले कोरोना भाइरसको उत्पतिबारेको अनुसन्धान पारदर्शी बनाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सुझाव दिएको छ । अमेरिकी स्वास्थ्य मन्त्री जेवियर बेसेरालेले कोरोना भाइरसको उत्पति र उत्दगम स्थलबारे हुने अबको चरणको अनुसन्धान थप पारदर्शी बनाउन डब्लुएचओसँग आग्रह गरेका हुन् ।

मन्त्रीस्तरीय डब्लुएचओको बैठकमा अमेरिकी स्वास्थ्य मन्त्री बेसेराले कोरोना भाइरसको स्रोतबारे अन्तर्राष्ट्रिय विज्ञहरुलाई अध्ययन तथा अनुगमनका लागि स्वीकृति प्रदान गरिनु पर्ने बताए ।

अमेरिकी सञ्चारमाध्यमहरुले गुप्तचर सूचनाहरुका आधारमा कोरोना भाइरसको उत्पती चीनको प्रयोगशालाबाट भएको र त्यहिँबाट चुहावट भएर विश्वव्यापी महामारीको रुप लिएको हुन सक्ने आशंकामा थप बल पुगेको दाबी गरिरहेका छन् ।

सन् २०१९ को अन्त्यतिर चीनको हुबेइ प्रान्तको वुहानमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म विश्वभर १६ करोड ७० लाख भन्दा धेरै संक्रमित भएका छन् । कोभिड–१९ का कारण विश्वभर ३४ लाख ७२ हजार भन्दा धेरैको ज्यान गएको छ ।

गएको मार्चमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको अध्ययन प्रतिवेदन डब्लुएचओले सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरसको उत्पति भएको हुन सक्ने सम्भावना अति न्यून रहेको उल्लेख थियो । तर डब्लुएचओले थप अध्ययनको खाँचो भने रहेको बताएको थियो ।

तर अमेरिकी गुप्तचर निकायको सूचनामा वुहानमा कोरोना भाइरसको संक्रमण सुरु हुने बेला तिर वुहान इन्स्टिच्युड अफ भाइरोलोजीका तीन कर्मचारीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको र उनीहरुले अस्पतालको सहायता लिनु पर्ने अवस्था आएको उल्लेख भएपछि आशंका बढेको छ ।


प्रतिक्रिया दिनुहोस !