१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भीम रावलले अफवाह फैलाएपछि पर्सा प्रशासनले निकाल्यो विज्ञप्ति



वीरगञ्ज । निषेधाज्ञा अवधिमा ठूलो भीडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कार्यालयका सूचना सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकता वितरण नभएको बताएका हुन् । जिल्ला प्रशासन कार्यालयको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएका भएका पोष्ट र आएका समाचारहरु प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । ‘नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न बैशाख १६ गते देखि नै पर्सा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ । निषेध आदेश हालसम्म जारी छ ।

निषेधाज्ञा जारी भएको अवस्थामा कार्यालयबाट शान्ति सुरक्षा कोभिड नियन्त्रण संग सम्बन्धित कार्य एवं अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ ।’ सहायक प्रजिअ पौडेलले विज्ञप्तीमा लेखेका छन् । निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाईएको भिडियो फुटेज पुरानो रहेको प्रशासनले विज्ञप्तीमा मार्फत स्पष्ट पारेको छ । केही दिन अघि एमाले स्थायी समिति सदस्य भीम रावलले पर्सामा भारतीय नागरिकहरुको नेपाली नागरिता लिन भीड लागेको भन्दै सामाजिक संजाल टुईटमा लेखेपछि विभिन्न समाचार माध्यमहरुले रावलको टुईटलाई कोट गरेर समाचार सम्प्रषण गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !