८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपाललाई सिक्किमीकरण र फिजीकरण गर्न नागरिकता अध्यादेश ल्याईयो : जन समाजवादी मंच



काठमाडौं : कृष्णप्रसाद धमलाको नेतृत्वको जन समाजवादी मंच, नेपालले नागरिकतासम्बन्धी अध्यादेश नेपाललाई सिक्किमीकरण र फिजीकरण गर्ने उद्देश्यले ल्याएको बताएको छ । बुधबार मंचाका संयोजक कृष्णप्रसाद धमला ‘गम्भीर’ ले विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डता माथि नांगो नाच र सत्ता सौदाबाजीमार्फत नांगो हस्तक्षेपको घोर भत्सर्ना गरेका छन् । “राष्ट्रघात गर्ने सिलसिलामा नेपाल नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ जारी गरी आमाको नागरिकताका आधारमा वंशजको आधार मानी नागरिकता दिने निर्णय गरेर देशलाई सिक्किमिकरण र फिजिकरण गर्ने षड्यन्त्रका साथ कसैको बुइ चढेर आएको कुरामा हामी नेपाली जनता प्रष्ट छौं । यो नेपालको सार्वभौमसत्ता र अखण्डता माथि नाङ्गो नाच र सत्ता सौदाबाजीमार्फत नांगो हस्तक्षेपको हामी घोर भ्रत्र्सना गर्दछौं र सो अध्यादेश तत्काल फिर्ता लिन माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संघीय लोकतान्त्रिक गणतन्त्र ध्वस्त पार्ने खेलामा लागेको मंचले बताएको छ । संयोजक गम्भीरले ओली कुर्सीको मोहका कारण संविधान प्रदत्त जनताका सिमित अधिकारहरुलाई समेत बुटले कुल्चदै जेठ ७ गते मध्यरात प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने कदम स्वाच्छाचारी फासिस्ट भएको ठहर गर्दै मंचले उक्त कदमको घोर भत्सर्ना समेत गरेको छ । उसले कोरोनाका कारण जनता जीवनमरणको महाविपतिको अवस्थामा रहेको अवस्थामा मन्त्रीहरु ब्यापारीको मिलेमतोमा भ्रष्टाचार र कमिसनमा लिप्त रहेको बताएको छ । त्यसैगरी मंचले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले संसदीय व्यवस्था पूर्णतः असफल प्रमाणित भएको छ, र पुनः एकपटक संसदीय ब्यबस्थाको धज्जी उडाएको बताएको छ । संयोजक गम्भीरले फेरिपनि ‘संसदिय ब्यबस्था खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने लेनिनको भनाई सत्य सावित भएको बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !