१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नागरिकता बिधेयक जारी भएपनि अझै पाल भित्रै रेल



जनकपुर । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको छ । पटक–पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन ।

भारतबाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना, कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो । रेल्वे कम्पनीमा यसअघिका झन्डै ६० अस्थायी कर्मचारी र १२ स्थायी कर्मचारी छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामती कर्मचारी काजमा ल्याएर जनशक्ति अभाव कम गर्ने काम गरिएको छ ।

कम्पनीले रेल चलाउन दक्ष २६ भारतीय कर्मचारी ल्याएर सञ्चालन तयारी गर्दै आएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको हो ।

सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट दुई रेल किनेर ल्याएको थियो । हाल, ती रेल प्लास्टिक बेरेर सशस्त्र प्रहरीको सुरक्षामा राखिएका छन् ।

३४ किलोमिटर जनकपुर–जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !