Thursday, January 23, 2025

ट्रेन्डिङ :

कविता : मेरो देशमा

spot_img
spot_img
spot_img

✍️ पेशल आचार्य

काठमाडौं ।

प्राकृतिक विपद् होस् या
जीवन पल्लोफाल पुग्ने
कठिन महामारीहरू नै किन नहुन्
बिरालोले मुसो खेलाएझैँ गरी
मेरो देशमा
राजनीतिज्ञहरू एका एक
कुटील बेपारी
र बेपारीहरू चतुर राजनीतिज्ञ बन्छन्
अपराधले जबजब जरो गाड्दै लैजान्छ
अनि मेरो देशका सुरक्षाधिकारीहरू अपराधी भाँतीमा
र अपराधीहरू सुरक्षा धिकारीका भूमिकामा सगौरव देखिन्छन्
यै देश हो डनलाई माननीय सांसद र मन्त्री बनाउने
यै देश हो जनता छिनेका बेला
राजनीतिको अपराधीकरण
र अपराधको राजनीतिकरण गर्न रूचाउने
माक्र्सका दारी जिलेट लगाएर काट्ने पनि यहीँ छन्
माओका कपाल तक्लु बनाएर सिनित्तै बनाउने पनि यहीँ छन्
बीपीका सपनाहरू बलात्कार गर्ने पनि यहीँ छन्
मदनका विचारलाई नामेट पार्नेहरू पनि यहीँ छन्
सबै सबै यहीँ छन्
अरौटेहरू/भरौटेहरू/
अनुमान गिरी गर्नेहरू
हनुमान गिरी गर्नेहरू
वैरीका एजेण्टहरू
पराईका बहिदारहरू
सबै सबै यहीँ छन्
हुन्छ बहादुरहरू/ढोडका लौराहरू
शिष्टाचार महापालहरू
नन्दी/भृङ्गीहरू
र सबैभन्दा बढी
सलामी/गुलामी र मलामी हुन चाहने
मासुका डल्ला जस्ता मूर्दा मानिसहरू यहीँ छन्,

स्कुल/कलेजहरू बन्द भएपछि
फेसबुकमा
मास्टर/प्राध्यापकहरू विद्यार्थी
र विद्यार्थीहरू मास्टर/प्राध्यापक भूमिकामा अर्ती दिँदै भेटिन्छन्
ड्राइभरहरू खलाँसी
र खलाँसीहरू किर्ते ड्राइभरका रूपमा चिनिन्छन्
अधिकारका नदीमा जब झरेर दुनियाँ निस्सासिन्छ
त्यसबेला
जब जब मुद्दा पर्छन् सम्मानित अदालतहरूमा
अनि वकिलहरू न्यायाधीशका अभिनयमा
र न्यायाधीशहरू वकिलका चरित्रमा ठिङ्ग उभिएरै
बेला न कुबेला पक्ष/विपक्षका घर/डेरा चहार्छन्
सजिलो बेला
सबै सबैहरू आफ्नो भूमिकामा हुने रहेछन् महाशय !
तर जब जब समय सकसमय हुन्छ
जीवन जिउन कठिन भन्दा कठिनहुँदै जान्छ
अनि सर्पहरू उड्न थाल्दा रहेछन्
अचम्म चराहरू घस्रन जान्दा रहेछन्
त्यसैगरी गदाहाहरू आकासै थर्किने गरी भुक्न
कुकुरहरू भारी बोक्नसमेत काबिल हुँदा रहेछन्
अरू त अरू
अभिभावक भनिएका ठूल्ठूला नेता जति सबै
जनताका अधिकार खोस्नकै लागि ‘लेता’
र ‘लिजेण्ड’ जति सबै
विदेशीका ‘एजेण्ट’ हुँदा रहेछन्,

सायद् परिवेश यसरी नै विकसित भैरह्यो भने
भोलि मेरो देशमा
देशवासी जति अल्पमतमा
र विदेशीहरू सबै बहुमतमा
पक्कै हुनेछन्,

यसैगरी
हाम्रा बोली/आवाज
र व्यवहार
फस्को भएर
छिन्दै गए भने
रङ उडेर
बहुरूपीहुँदै गए भने
विश्व मानचित्र बाटै
नेपाल हराउन पनि त सक्छ
नेपाली बिलाउन पनि त सक्छन् !!
त्यो बेला
हामीले के भनेर सन्ततीलाई जवाफ दिने ?

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?