७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई गृहको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको बेला उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालद्धारा विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको जनाएको छ ।

‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बिहीबार राति भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ ।

घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा ७ सदस्यीय छानविन समिति पनि गठन भइसकेको गृह प्रवक्ता दाहालले बताए ।

स्वास्थ्यकर्मी आन्दोलित
नेपालगञ्जस्थित भेरी अस्पतालमा गएराति चिकित्सकलगायत माथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । उक्त घटनाले अस्पतालमा काम गर्ने सुरक्षा व्यवस्था नभएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार ज्यानै लिनेगरी भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशङ्कामा स्वास्थ्यकर्मी सन्त्रासमा रहेका छन् । स्वास्थ्यकर्मी अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् ।

नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्ध रुपमा भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको जनाउँदै घटनामा संलग्न दोषीमाथि कारबाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरे ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गएराति मृत्यु भएपछि उहाँका भाइ मानबहादुर रावत र छोरा भरत रावतलगायत चार÷पाँच जनाको समूहले अस्पतालका चिकित्सक तथा नर्समाथि आक्रमण गरेको थियो ।

मृतकका आफन्तको आक्रमणबाट चिकित्सक दीपक गुप्ता, चन्द्रप्रकाश साहु, समा अन्सारी तथा स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको अस्पतालका प्रमुख डा थापाले बताए । चिकित्सक र नर्समाथि आक्रमण गर्ने मृतकका आफन्त, भाइ मानबहादुर, छोरा भरत र लोकराज रावतलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

विज्ञप्तिमा हेर्नुस् गृहको निर्देशन


प्रतिक्रिया दिनुहोस !