१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज



बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा आज मतदान हुँदै छ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।


प्रतिक्रिया दिनुहोस !