१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

टेलिकमको सेयर बिक्री गर्दा कम्पनीले कुनै फाईदा नपाउने, बिक्रीको रकम सिधै सरकारको खातामा जाने



काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्दा त्यसवापत कम्पनीले कुनै लाभ नपाउने भएको छ । कतिपय लगानीकर्ता टेलिकमले आफ्नो २२ प्रतिशत सेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री गर्दा प्राप्त रकम कम्पनीको आम्दानी भई त्यसबाट बोनस वितरण गर्न पाईने बताईरहेका छन् । तर वास्तविकतामा टेलिकमले सर्वसाधारणका लागि थप सेयर बिक्री गर्ने नभई सरकारले आफ्नो स्वामित्वमा भएको सेयरमध्येबाट २२ प्रतिशत सर्वसाधारणलाई बिक्री गरेर त्यसबाट प्राप्त हुने सबै रकम सरकारले नै लैजाने भएको हो ।

हाल टेलिकमको नेप्सेमा १५ करोड कित्ता सेयर सूचिकृत छ । सोमध्ये सरकारको नाममा ९१.५ प्रतिशत हिस्सा छ । सरकारले सोहीमध्येबाट टेलिकमको २२ प्रतिशत अर्थात करिव ३ करोड ३० लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्रीमा निकाल्ने छ । र त्यसबाट प्राप्त सम्पूर्ण रकम टेलिकमको खातामा नभई सरकारले सोझै आफ्नो खातामा लैजाने छ । धितोपत्र नियममावली अनुसार पनि कुनै पनि कम्पनीले सर्वासाधारणलाई न्यूनतम १० कित्ता सेयर जारी गर्नुपर्छ । तर टेलिकमले ८.४७ प्रतिशत सेयर मात्रै सर्वसाधारणमा जारी गरेको थियो । सरकारले अगामी आर्थिक बर्षको बजेटमार्फत ल्याएको उक्त व्यवस्थाले उक्त नियमको समेत पालना गरेको देखिन्छ ।

पछिल्लो पटक टेलिकमको सेयर प्रतिकित्ता १३५६ रुपैयाँका कारोबार भएको छ । उक्त सेयर सरकारले प्रिमियम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ राखेर सर्वसाधारणलाई बिक्री गर्न सक्नेछ । यदि प्रतिकित्ता मूल्य १ हजार रुपैयाँमात्रै राखेर बिक्री गर्यो भने पनि बजारबाट सरकारले ३३ अर्ब रुपैयाँ खिच्न सक्नेछ । जसले गर्दा बजारमा लगानीकर्ताको उक्त रकम होल्ड भई कारोबार रकममा समेत गिरावट आउने देखिन्छ । सरकारले टेलिकमको सेयर सर्वसाधारणलाई प्रिमियममा बिक्री गर्ने बताएसँगै सामाजिक संजालमा कतिपय लगानीकर्ताले प्रिमियम मूल्यमा बिक्री गरेको सेयरबाट बोनस खान पाईने र अब टेकिलमको सेयर मूल्य बिक्री गर्ने भन्दै स्टाटस राख्न थालिसकेका छन् । जुन सोझा लगानीकर्ता माथि थापिने गलत सूचनाको पासो मात्रै हो । बढी मुल्यमा बेचेर आउने प्रिमियम सरकारले लान्छ कम्पनिमा सेयरधनी मात्र परिवर्तन हुन्छ ।

यसैगरी टेलिकमका संचालक अम्बिकाप्रसाद पौडेल पनि टेलिकमको सेयर सर्वसाधारणलाई प्रिमियममा बिक्री गर्दा कम्पनीलाई कुनै र्फाइदा नहुने बताउँछन् । ‘यो सरकारले आफ्नो स्वामित्वमा भएको सेयर सर्वसाधारलाई बिक्री गर्ने हो,’ उनले भने, ‘सरकारले आफ्नो नामको सेयर बिक्री गर्छ र सो वापत प्राप्त हुने रकम पनि सरकारले नै लैजान्छ ।’

शुरुवाती समयमा पनि टेलिकमले आफ्नो सेयर प्रिमियम मूल्यमै जारी गरेको थियो । तत्कालिन समयमा सर्वासाधारण लगानीकर्ताका लागि प्रतिकित्ता ६०१ रुपैयाँमा जारी गरेको सेयर मूल्य घटेर ४ सय रुपैयाँको हाराहारीमा आएको थियो । तर अहिले प्रतिकित्ता मूल्य १३५६ हुँदा सरकारले न्युनतम १ हजार रुपैयाँमा बिक्री गर्न सक्छन् । तर, पछिल्लो समय टेलिकमको नाफा खस्किदो क्रममा रहेकाले लगानीकर्ताले उक्त मूल्य हाल्दा न्यून लाभांप पाउने सम्बद्ध सरोकारवालाहरुको भनाई छ ।

कर्नरिङ गर्ने समस्यामा

पछिल्लो समय टेलिमकको सेयर कर्नरिङ गर्दै मूल्यमा चलखेल गर्दै आएका थिए । कम्पनीको थोरै कित्ता सेयर मात्रै बजारमा हुँदा बैंक वित्तीय संस्थादेखि ठूला लगानीकर्ताहरु यसैको सेयर कर्नरिङमा लागेका थिए । तर अब सरकारले सर्वसाधारणलाई थप २२ प्रतिशत सेयर हिस्सा बिक्री गर्दा ३ करोड ३० लाख कित्ता सेयर बजारमा आउने भएकाले टेलिकमको कर्नरिङ समेत रोकिने सम्बद्ध सेयर विश्लेशकहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !