१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित



बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थन पाएका पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशसभा तर्फ १ मत र स्थानीय तहतर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।

विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए । खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

राष्ट्रियससभा सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए । उक्त पदमा भएको उपनिर्वाचनमा एमालेबाट खड्का नै उम्मेदवार थिए भने विपक्षी गठबन्धनको समर्थनमा कांग्रेसले पाण्डेयलाई उम्मेदवार बनाएको थियो ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा पाण्डेय एमालेको तर्फबाट कपिलवस्तु २ (१) बाट निर्वाचित भएका थिए । गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि पाण्डेयले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए । सोही दिन कांग्रेस प्रवेश गरेका उनलाई विपक्षी गठबन्धनले राष्ट्रिय सभा उपनिर्वाचनको साझा उम्मेदवार बनाएका थिए ।

राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेशसभाका ८३ सांसदमध्ये नेकपा एमालेका उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको पुुष्टि भएको कांग्रेसका सांसद फखरुद्दिन खानले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय