७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सीजीले सुरु गर्‍यो अहिले सम्मकै सस्तो र उच्च गतिको इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस



काठमाडौं- चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेसन्स लिमिटेडले काठमाडौं उपत्यकामा निश्चित क्षेत्रहरुबाट आफ्नो इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले ‘सीजी नेट’ नाममा आफ्नो सेवा शुरु गरेको हो ।

सीजी कम्युनिकेसन्सले सीजी नेट नाममा ९९९ रुपैयाँमा १२० एमबीपीएस गतिमा उपलब्ध गराउने दाबी गरेको छ । हाल यो सेवा ललितपुर जिल्लाको सिमित क्षेत्रमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

“तपाई स्पीडको मामिलामा जति योग्य हुनुहुन्छ सोही गतिमा आफ्नो जीवनको आनन्द लिनुहोस्” भन्ने नाराका साथमा कम्पनीले आफ्नो सेवा शुरु गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ ।

‘स्पीड द्याट म्याटर्स’ (Speed That Matters) भन्ने मुल थिमका साथमा कम्पनीले न्यूनतम १२० एमबीपीएसको स्पीडमा इन्टरनेट सेवा उपलब्ध गराएको हो । यसमा मासिक ९९९ रुपैयाँ तोकिएको छ भने वार्षिकरुपमा ११ हजार ९८८ रुपैयाँ तिर्नुपर्नेछ ।

उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको कम्पनीको भनाई छ ।

कम्पनीले निकट भविष्यमै आईपीटीभीसहितका अन्य सेवा पनि बजारमा ल्याउने जनाएको छ । आगामी दिनमा अन्य स्थानहरुमा पनि सेवा उपलब्ध गराउने जनाएको छ ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि डिपोजिट अन्तरगत ५०० रुपैयाँ थप तिरे हुनेछ । यस बाहेक मासिक, ३ महिना र ६ महिना प्याकेज लिँदा जडान र केबल मात्र निःशुल्क हुनेछ ।

ललितपुर क्षेत्रमा सेवा बिस्तार गरेपनि कम्पनीले आफ्नो कार्यालय ट्रेड टावरमा राखेर सेवा दिने जनाएको छ ।

यसैबिच कम्पनीद्धारा जारी विज्ञप्तीमार्फत सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए ।

“दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”

नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने उनले बताए।

शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले सेवाको फाइदा उठाउन सक्ने बताईएकोछ।

‘१२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने हाम्रो लक्ष्य छ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !