७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कोरोना परीक्षण घटे पनि घटेन संक्रमण दर



काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकले कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । तर, संक्रमण घट्दै गएर संक्रमितको संख्या घटेको नभई पीसीआर परीक्षण नै कम गरिएकाले संक्रमितको संख्या कम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

दैनिक करिब २० हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएकोमा पछिल्लो समय १० देखि १२ हजारको संख्यामा मात्र पीसीआर परीक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले समेत स्पष्ट पारेको छ ।

संक्रमितको संख्या कुल परीक्षणको ३० देखि ३५ प्रतिशत रहेको अवस्थामा कोरोना संक्रमण घट्यो भन्नु नागरिकलाई झुक्याउने काम मात्र भएको उनीहरूको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि नमुना संकलन नै कम भएकाले परीक्षण घटेको स्वीकार्छन । उनले अझै पनि परीक्षणलाई समुदायस्तरमा लैजान नसकिएको र अधिकांश पीसीआर परीक्षण कोरोनाको लक्षण देखिएर अस्पताल वा स्वास्थ्य संस्थामा आई नमुना दिनेको मात्र भएको बताए ।

उनले स्थानीय तहमा एन्टिजेन परीक्षण पनि कमै मात्र भएको बताए । पछिल्लो समय देशभर सरकारी र निजी गरी ९० वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सीमा नाका तथा स्थानीयस्तरमा एन्टिजेनमार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ । मन्त्रालयले ११ लाखको हाराहारीमा एन्टिजेन कीट सम्पूर्ण स्थानीय पालिका तहमा पठाएको छ । तर, कहाँ–कति परीक्षण भइरहेको छ । त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय काभे्रका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार अहिले गाउँमा नयाँ ‘भेरियन्ट’ बाट संक्रमित हुनेको संख्या बढ्दो छ । शहरी भेगमा समयमै परीक्षण गर्ने र आइसोलसनमा बस्ने व्यवस्था भएकाले संक्रमण घट्दै गएको भए तापनि शहरबाट गाउँमा गएकाहरू खुलेआम धेरै मानिससँग सम्पर्कमा आएका कारण संक्रमण बढ्दो भएको उनी बताउँछन् ।

गाउँमा अधिकांश घरमा कोही न कोही कोरोना संक्रिमित भएको र शहरको जस्तो मास्क लगाउने, दुरी कायम गर्ने नियम पालना हुन सकेको छैन । साधारण घर, साघुँरो बस्ती, खाना खाने, बस्ने, शौचालय प्रयोग पनि एउटै भएकाले कोरोना संक्रमण तीव्ररूपमा फैलिने सम्भावना हुन्छ ।

गाउँमा यतिखेर खेतीको सिजन भएकाले किसानहरूले संक्रमणको लक्षण देखिए पनि परीक्षण गराएपछि काम रोकिएला भनेर परीक्षण नै नगर्ने र जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल जाने भएकाले घरपरिवार र समाजमा कोरोना फैलिसकेको अवस्था रहेको डा. झा बताए । स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिकाका सन्दीप केसीले धुलिखेलमा पनि कोरोना संक्रमितको संख्या घटेको नभई परीक्षण मात्र घटेको बताए ।


प्रतिक्रिया दिनुहोस !