१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मनकारी कार्यालय प्रमुख, आफुले पाउने सुविधा रकमबाट कर्मचारीलाई पुरस्कृत गरे



नवलपरासी- नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाका प्रमुखले आफूले पाउँदै आएको सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् । गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले आफूले पाउँदै आएको सुविधावापतको रकम मध्ये रु ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुनेमा गाउँपालिकामा विगत तीन वर्षदेखि विपद् व्यवस्थापन शाखामा सम्पर्क व्यक्तिका रूपमा कार्यरत प्रदीपकुमार तिवारी रहेका छन् । गाउँपालिका अध्यक्ष गुप्ताले आज उनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै तिवारीको कार्यसम्पादनबाट प्रभावित भएर आफूले व्यक्तिगतरूपमा पुरस्कृत गरेको बताए ।

सार्वजनिक विदामा तथा जुनसुकै समयमा पनि सेवामा निरन्तर खटिएर कार्यसम्पादन गरेकाले थप प्रोत्साहनका लागि पुरस्कृत गरेको अध्यक्ष गुप्ताले बताए । अधिकांश समय कार्यक्षेत्रमै खटिएर जस्तोसुकै परिस्थितिमा पनि गाउँपालिका र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेकाले उक्त कार्यको उच्च मूल्याङ्कन गरेको उनले बताए ।

अहिलेको कोरोना महामारीको सङ्कटमा पनि तिवारीको कार्यसम्पादन उत्कृष्ट रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए । गत वर्ष पनि अध्यक्ष गुप्ताले उहाँलाई एक थान मोबाइल सेट आफ्नो तर्फबाट प्रदान गरेका थिए। गाउँपालिका अध्यक्ष गुप्ताले आफूले पाउँदै आएको सुविधावापतको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् । पुरस्कृत कर्मचारी तिवारीले पुरस्कृत हुन पाएकोमा आफूले गर्व महसुस गरेको र अझ जिम्मेवारी थपिएको बताए ।


प्रतिक्रिया दिनुहोस !