Sunday, March 16, 2025

ट्रेन्डिङ :

कोरोना संक्रमितहरुमा बढ्दो ब्ल्याक फंगसको संक्रमण

spot_img
spot_img

काठमाडौं । पछिल्लो समय कोभिड–१९ संक्रमितहरुमा ब्ल्याक फंगस संक्रमणको समस्या पनि बढ्दै गएको छ । नेपालमा अहिलेसम्म यो समस्या १० जनामा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । अनुहार, मुख, नाक, कान, आँखा वरिपरि दुख्ने, सुन्निने, ज्वरो आउने, दाँत दुख्ने तथा हल्लिने समस्या देखिएमा ब्ल्याक फंगसको संक्रमण हुन सक्ने जनाइएको छ । त्यस्तै, आँखाको ढक्कनी सुन्निने, ढकनी झुक्ने, आँखाले धमिलो देख्ने तथा नाक वरिपरिको छालाको रङ कालो हुँदै जाने, नाकाबाट रगत बग्ने तथा बाक्लो सिँगान आउनेजस्ता ब्ल्याक फंगसको लक्षण भएको जनाइएको छ ।

कुनै पनि फंगसलाई ‘अवसरवादी’ संक्रमणको रुपमा विशेषज्ञहरुले बुझ्ने गरेका छन् । अर्थात्, रोगप्रतिरोधी क्षमता कम भएका जुनसुकै गम्भीर रोगका बिरामीहरुलाई फंगसको संक्रमण हुन सक्ने सम्भावना उच्च हुन्छ । कोभिड संक्रमितमा अहिले देखिएको ब्ल्याक पंmगस वातावरण तथा माटोमा पाइने ढुसीमध्येको एक प्रजाति हो, जुन मानिसको शरीरमा प्रवेश गरेपछि म्युकरमाइकोसिस संक्रमण हुन्छ । यो संक्रमण श्वासप्रश्वासको माध्यमबाट बिरामीको फोक्सो तथा विभिन्न अंगमा फैलिन्छ ।

विशेषगरी लामो समयसम्म स्टेरोयड प्रकारका औषधि प्रयोग गरेका बिरामीहरुमा रोगप्रतिरोधी क्षमता अत्यन्तै न्यून हुने हुँदा म्युकर संक्रमण भएका घटना धेरै छन् । भारतको नयाँ दिल्ली, गुजरातलगायत क्षेत्रका कोभिड संक्रमितहरुमा ब्ल्याक फंगस अत्यधिक देखिएपछि भारत सरकारले यसलाई महामारीको रुपमा घोषणा गरेको थियो । नेपालमा वीरगन्जमा म्युकर संक्रमित भेटिएका थिए । अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पाँचसहित देशभर १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ब्ल्याक फंगस आफैँमा गम्भीर प्रकृतिको संक्रमण हो । यो संक्रमणले श्वासप्रश्वास, स्नायु र मस्तिष्क प्रणालीमा गम्भीर असर पुर्‍याउने र संक्रमितको मृत्यु पनि हुन सक्ने चिकित्सकहरु बताउँछन् । नेपालमा इन्फ्लुइन्जा, मधुमेह, एचआईभी, मिर्गौला रोगी, क्यान्सरलगायत उपचार गराइरहेका बिरामीमा ब्ल्याक फंगस संक्रमण हुने गरेको पाइएको छ । सबै उमेर समूहका व्यक्ति यो संक्रमणको जोखिममा भए पनि अहिलेसम्म भारतमा सबैभन्दा धेरै ‘केस’ युवामा देखिएको छ । साधरणतया कोभिड संक्रमण भएको दुईदेखि चार हप्तासम्म ब्ल्याक फंगसको समस्या देखिन्छ । तर, संक्रमण भएको १० देखि ६० दिनसम्म पनि यो समस्या देखिने सम्भावना रहन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्ल्याक फंगसको संक्रमणबाट बच्न चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा अरु औषधिको जथाभावी प्रयोग नगर्न सुझाव दिएको छ । अस्पताल भर्ना भएका कोभिड संक्रमितमा ब्ल्याक फंगस देखिएमा अरु संक्रमितभन्दा छुट्टै राखेर उपचार गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘प्रोटोकल’ बनाएको छ । नेपालमा केही संक्रमितहरुको शल्यक्रिया विधिबाट पनि उपचार गरिएको महाशाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेकाहरुलाई ब्ल्याक फंगस रोकथामका लागि निम्न उपाय अपनाउन सुझाव दिएको छ ।

सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, नुनिलो पानीले नाक सफा गर्ने, धेरै धुलो भएको ओसिलो ठाउँमा नजाने, पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी तथा मुख कुल्ला गर्ने र मधुमेह भएका बिरामीले सुगर नियन्त्रण गरे ब्ल्याक फंसबाट बच्न सहयोग पुग्छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?