१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

घनश्याम र गोकर्णको कारणले नेपाल समूहको पार्टी गठनमा विलम्ब



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले विभाजनको संघारमा पुगको भए पनि दोस्रो पुस्ताका नेता घनश्याम भुसाल र गोकर्ण विष्टका कारण केही विलम्ब भएको नेपाल समूहका नेताहरु बताउँछन् । पार्टीले साधारण सदस्यसमेतबाट कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट जनसंगठनहरूको भर्चुअल भेलामा नयाँ पार्टीको विकास गर्नुको विकल्प नरहेको बताए पनि उनको अभ्यासले सार्थकता नपाउनुमा दोस्रो पुस्ताका नेता घनश्याम भुसाल र गोकर्ण विष्टको ल्याङ ल्याङ मुख्य कारक रहेको नेपाल समूहका नेताहरु बताउँछन् ।

भर्चुअल बैठकमा त नेता नेपालले गोकर्ण विष्टको नाम किटेरै विष्टले समयमै छिनोफानो नगरेको बताएका थिए । नेता नेपालले भने, मैले गोकर्ण विष्टलाई तीन दिनभित्र छिनोफानो गर्न भनेको थिएँ । तर, यसबीचमा ठोस प्रगति भएको छैन । प्रधानमन्त्री ओली सुध्रिने, सच्चिने संकेत मिलेको छैन । उनले जेठ २ मा फर्कने भनेर वक्तव्यबाजी पनि गर्न सक्छन् । तर, उनको विगत हेर्दा सम्झौता पालना गर्ने कुरा खण्डित हुने देखिन्छ ।

नेता नेपालले गत पुस १ गतेको उदाहरण दिएको ती नेताको भनाइ छ । नेकपा विवाद उत्कर्षमा पुगेको बेला पुस १ गते असन्तुष्ट तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल र चौथो वरीयताका नेता माधवकुमार नेपाल समूह राष्ट्रपति कार्यालयमा विशेष अधिवेशन माग गर्दै समावेदन दर्ता गर्न राष्ट्रपति कार्यालय पुगेको थियो । त्यतिबेला स्थायी कमिटी बैठक चलिरहेको थियो । समावेदन दर्ता गर्न पुगेपछि दुवैतर्फका दोस्रो तहका नेता, सुवास नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतले राष्ट्रपति कार्यालयमा दर्ता भएको समावेदन फिर्ता गर्ने र प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्ने सहमति भएको थियो ।

सहमति मुतावित आफूहरू राष्ट्रपति कार्यालयबाट फिर्ता भएको तर, ओलीले अध्यादेश फिर्ता नलिई त्यही आधारमा निर्णय, नियुक्ति–सिफारिस प्रक्रिया अघि बढाएको नेता नेपालले बुधबारको भर्चुअल भेलामा बताएका थिए । यसले पनि ओली सम्झौताप्रति पटक्कै इमान्दार हुँदैनन् भन्ने प्रमाणित गर्ने नेता नेपालको भनाइ रहेको भर्चुअल भेलाका सहभागी बताउँछन् ।

“त्यसकारण ओलीको छलछाममा अल्झने कुरा छैन । अहिले अदालतमा मुद्दा विचाराधीन छ । संसद् पुनःस्थापनाको सम्भावना छ । यसले पनि उनले अल्झाउन खोजेका हुनसक्छन् । उनीलाई सांसदहरू देखाउन पर्ने पनि हुनसक्छ । तर, आउने आउँछन्, नआउने आउँदैनन् । हामी ओलीको कुरामा मख्ख पर्नेवाला छैनौँ,” नेता नेपालले भनेका थिए । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरूसँगको छलफलबारे आफु अनविज्ञ रहेको नेपालले बताएका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !