१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

भोल्यूमसहित नेप्सेले कायम गर्यो नयाँ रेकर्ड, बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण



साताको अन्तिम कारोबार दिन बिहीबार भोल्यूमसहित नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। यस दिन झण्डै १७ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा नेप्से सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस दिन नेप्से सूचक २९.६४ अंकले बढेर २८५६.७७ विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च विन्दु हो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.१२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार रकम पनि झण्डै १७ अर्ब नजिक पुगेको छ। बिहीबार २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा खरिदबिक्री भएको छ

  • बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण

बिहीबारको बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। यस दिन बैंक, विकास बेंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा उच्च रुपले बढेको छ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। यस दिन बैंकिग उपसमूहको सूचक २.७१ प्रतिशतले बढ्दा बिकास बेंक र फाइनान्स उपसमूहको सूचक पनि क्रमशः ३.७२ प्रतिशत र ३.३४ प्रतिशतले बढेकाे छ। हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ।

  • ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

बिहीबार कारोबारमा आएका कम्पनीहरुमध्ये ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सको ९.६८ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ९.५५ प्रतिशतले बढेको छ।

यता शेयरमूल्य घट्ने कम्पनीमा भने अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन्। बिहीबार पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.९२ प्रतिशतले घटेको छ भने राधी विद्युतको ५.०६ प्रतिशत, बरुण हाइड्रोको ४.८८ प्रतिशत, र घलेम्दी हाइड्रोको ४.४१ प्रतिशतले घटेको छ।


प्रतिक्रिया दिनुहोस !