१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कर्णालीमा दुई मन्त्रालय सहित कांग्रेस सरकारमा जाने पक्का



काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुँदैछ । गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको काँग्रेस झण्डै दुई महिना पछि सरकारमा सहभागी हुने भएको हो ।

कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको बताए । नेता शाहीका अनुसार अहिले कांग्रेस सरकारमा जाने पक्का भइसकेको र सरकारमा क–कसलाई पठाउने भनेर अन्तिम छलफल भइरहेको छ ।

स्रोतका अनुसार मुख्यमन्त्री शाहीले बिहीबार साँझ बस्ने प्रदेश मन्त्रिपरिषदको बैठकमा कांग्रेसले पठाएका दुई जनालाई मन्त्री सिफारिस गर्ने तयारी भएको छ । ‘आज बेलुका क्याबिनेट बोलाइएको छ, आज नै काँग्रेसका दुईजना मन्त्री नियूक्त गर्ने र भोलि सपथ खुवाउने तयारी भइरहेको छ’ स्रोतले भन्यो ।

प्रदेश सरकारमा हाल खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा मन्त्रालय कांग्रेस सांसदले पाउने भएको छ । सामाजिक मन्त्रालयमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत मन्त्रालयमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई पठाउने करिब पक्का भएको कांग्रेस निकट स्रोतको भनाई छ ।

एमालेले समर्थन फिर्ता लिएपछि वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा काँग्रेस र एमालेको नेपाल समूहका चारजना सांसद्ले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत पुर्‍याएका हुन् ।

नेपाल समूहका फ्लोर क्रस गर्ने चारमध्ये तीनजना अहिले मन्त्री छन् । कुर्मराज शाही कृषि मन्त्री, अम्मर थापा भौतिक पूर्वाधार मन्त्री र नन्दसिंह बुढा उद्योगमन्त्री बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय