१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दाह संस्कारको सामग्री अभाव



काठमाडौँ । मृत्युपछि दाह संस्कार र त्यसपछिको पितृकर्मका लागि चाहिने अत्यावश्यक सामग्रीको बजारमा अभाव भएको छ । यो अभावबीच संस्कारका सामग्री कमसल र गुणस्तरहीन प्रयोग भइरहेको छ भने चलनचल्तीको बजार मूल्यभन्दा बढी मूल्यमा सामानको व्यवस्था गर्नु परिरहेको प्रयोगकर्ताको गुनासो छ ।

सुपथ मूल्यमा सामान उपलब्ध गराउने सर्तमा पशुपति क्षेत्र विकास कोषको स्वीकृतिमा सञ्चालित पशुपति सेवा उपभोक्ता सहकारी संस्था लिमिटेडले पशुपतिस्थित आर्यघाटमा शवदाह तथा काजकिरियाका सामग्री र दानदातव्यका सामग्री दिँदै आएको छ । सहकारीका अध्यक्ष रेवतीरमण अधिकारीका अनुसार बन्दाबन्दीका कारण मलेसिया तथा भारतलगायतका मुलुकका विभिन्न स्थानबाट ल्याइने र आफ्नै मुलुकमा समेत पाइने कपुर, सालको धूप, तामा काँस र पित्तलका भाँडाकुँडालगायतका सामग्री बजारमा पाउन निकै कठिन भइरहेको छ । सामान अभाव भए पनि मूल्य नबढाउन सक्दो प्रयास भएको उहाँको दाबी छ ।

दाहका लागि प्रयोग हुने परालको मुठा मसिनो, कपुरको धुलोमा मैनको धुलो अत्यधिक मिश्रण भएको, मुठा दाउरा नसुकेको र कमसल तथा यी सबै सामग्रीको तौलमा पनि निकै कमी भएको गुनासो प्रयोगकर्ताको छ । कपुर धुलो एक हजार पाँच सय प्रतिकिलोबाट एकैचोटि दुई हजार एक सय रुपियाँ मूल्य बढेको र भाँडाकुँडालगायतका अन्य सामग्रीमा चलनचल्ती मूल्यभन्दा पाँच प्रतिशतसम्म मूल्य बढेको सहकारीका सदस्य बताउँछन् ।

अध्यक्ष अधिकारीले भने मूल्य नबढेको दाबी गर्नुभएको छ । उहाँका अनुसार किरिया, दाह संस्कार र दानका लागि चाहिने मृत्यु संस्कारका सामान सहज रूपमा बजारमा उपलब्ध हुन सकिरहेको छैन । कहिलेकाहीँ बढी मूल्यभन्दा बढी तिरेर सामान ल्याइएको बाध्यताले सहकारीमा समेत विवाद भइरहेको उहाँको भनाइ छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले केही गुनासो आए पनि बजार मूल्यभन्दा निकै कममा तोकिएको दररेटमा सामान सेवाग्राहीलाई दिइएको बताउनुहुन्छ । अहिलेको अवस्थामा सामान जुटाउन निकै समस्या परिरहेको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय