७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ढुंगा, गिट्टी, बालुवा बेच्ने निर्णय तराई–मधेसका भावी सन्ततिमाथिको ठूलो अपराध : रामवरण यादव



काठमाडौं : सरकारले चुरेका ९२ ठाउँमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन गरी भारतलाई बेच्ने निर्णयको चौतर्फी विरोध भईरहेको बेला गणतन्त्र नेपालका प्रथम राष्ट्रपति एवं चुरे संरक्षण अभियानकर्मी रामवरण यादवले ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका छन् । यस्तो निर्णय गैरसंवैधानिक र अराष्ट्रिय हुनुका साथै तराई–मधेस र भावी सन्ततिमाथिको ठूलो अपराधसमेत रहेको उनको जिकिर छ ।

प्राकृतिक स्रोत, साधन, पर्यावरणजस्ता विषयलाई संसद्मा छलफलसम्म नगराई अध्यादेशबाट बजेट ल्याएर जुन खालको निर्णय गरियो, यो राष्ट्रघाती छ । नेपालको हितमा छैन । तराई, मधेस र भावी सन्ततिमाथि गरिएको ठूलो अपराध हो  प्रथम राष्ट्रपति एवं चुरे संरक्षण अभियानकर्मी रामवरण यादवले भने । आफ्नो देशमा उपयोग कसरी गर्ने, वैज्ञानिक रूपमा निकासी कसरी गर्न सकिन्छ भन्नेबारे छलफल हुनुपर्थ्यो । कानुन बनाएर वैज्ञानिक ढंगले काम गर्नुपर्थ्यो तर केही नगरी आफ्नो सत्ता स्वार्थका लागि गर्न नहुने काम सरकारबाट भएको छ । यसलाई मैले राष्ट्रघाती कदमका रूपमा लिएको छु प्रथम राष्ट्रपति रामवरण यादव भन्छन् ।

तराई स्वर्ग थियो । पानी, अन्न, माछाको कमी थिएन । पोखरीदेखि नदी, तालतलैया, सिमसार थियो । सामान्य गरिब मान्छेले पनि माछा प्रशस्त खान पाउँथे । प्रोटिनको मुख्य आधार माछा हो । जसले गर्दा तराईमा बस्ने गरिबका बालबच्चा पनि कुपोषणबाट बच्ने अवस्था थियो । धान, दलहन, तेलहनको निर्यात हुन्थ्यो । पशुपालन थियो । दही, दूध प्रशस्त थियो । फलफूल सबै थियो । यो सबै चुरेको कारणले भएको हो । २०२४-०२५ सालसम्म नेपाल धान निर्यात गर्ने मुलुकमा संसारको पाँचौं राष्ट्र थियो । २०३८ सालसम्म हामी धान, दलहन, तेलहनको निर्यात गर्थ्यौं । तराईवासी कामको खोजीमा तेस्रो मुलुक जानु पर्थेन । धान रोप्न, काट्नका लागि बिहार, यूपी र बंगालबाट मान्छेहरू आउँथे । हाम्रो यताबाट हरियाणा, पञ्जाब, दिल्ली गएजस्तै उताबाट धान रोप्ने र काट्ने बेलामा मान्छेको लस्कर नै आउँथ्यो । माथि महाभारत, बीचमा घुसघुसे पहाड भएको चुरे र तल चारकोसे झाडी थियो । चुरे क्षेत्र बफर जोन पनि थियो ।

लोपोन्मुखदेखि अनेक प्रकारका वन्यजन्तु, जीवाणु र चराचुरुङ्गी थिए । पहाडले पानी सोसेर राख्थ्यो । त्यही पानीले तराईका खोलानालादेखि, तालतैलया जलले भरिपूर्ण हुन्थे । मैले आफैंले देख्दा २०२० सालतिर हातले बाँस जमिनमा गाडेर पानी निकालिन्थ्यो । त्यतिबेला करिब २५ फिटबाटै पानी आउँथ्यो । २०३६ सालमा मेरो जनकपुर घरको आँगनमा ट्युबवेल गाड्दा ५० फिटमा आयो । २०६४ सालमा फेरि गाड्नुपर्‍यो । त्यतिबेला ३ सय फिट तल जानुपर्‍यो । अहिले पाँच सय फिट तल नगई पानी आउँदैन । चालीस वर्षको अवधिमा पानीको सतह घट्दै गएको यो घटनाले पनि देखाउँछ चुरे क्षेत्रमा कति दोहन भएको रहेछ भनेर ।

चुरे हाम्रो लाइफलाइन हो । जैविक विविधिताको धनी छ । यसको इकोलोजीलाई हामीले मास्न हुन्थेन तर विभिन्न कालखण्डका शासक र सरकारले नै चुरेतिर आँखा लगाएको पाइन्छ । राणाकालमा काठ र वन्यजन्तुको निकासी हुने गर्थ्यो । चितवनको दक्षिणपट्टि ठोरीको जंगलमा अंग्रेजहरू पनि सिकार खेल्न आउँथे । पञ्चायतकालमा राजा महेन्द्रले चुरेको बीचबाटै राजमार्ग खोलिदिए । त्यसपछि बसाइँसराइ सुरु भयो । सहरीकरण बढ्दै गयो । अहिले पनि तराईका बूढापाकाहरू राजा महेन्द्रले तराईका जंगल समाप्त गरेको भनेर सुनाउँछन् । चुरेको जंगल मास्ने काम त्यहीँबाट सुरु भयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ स्थित चुरे क्षेत्र । चौदण्डीगढीका साथै जिल्लाका कटारी, त्रियुगा र बेलका नगरपालिका क्षेत्रमा अवैध उत्खनन र निकासी बढेको छ ।

२०३७ सालमा जनमत संग्रह भयो । राजा वीरेन्द्रलाई पञ्चायतलाई जिताउने भनी आश्वस्त तुल्याएर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले खुलेआम काठको निकासी गराए । त्यतिबेला आधा जंगल सखाप भएको थियो । २०४६ सालदेखि केही व्यवस्थित भयो । २०६२र०६३ सालतिर काठको तस्करी मात्रै भएन, ढुंगा, गिट्टी र बालुवाको तस्करी गर्ने क्रम पनि सुरु भयो ।

त्यसपहिला बालुवा, ढुंगा र गिट्टीको तस्करी हुन्थेन । जब पक्की घरहरू बन्न थाले, हाम्रैमा र छिमेकी भारतमा भकाभक सडकहरू बन्न थाले, त्यसपछि ढुंगा, गिट्टी, बालुवाको निकासी सुरु भयो । चुरिया बेल्टमै क्रसर उद्योग चलाउन थालियो । दिनभर चुरेबाट निकाल्ने, सीमा क्षेत्रमा राख्ने र राति निकासी गर्ने काम हुन थाल्यो । यो क्रम २०६२ सालदेखि अहिलेसम्म नियन्त्रण छैन । क्रसर उद्योग चलाउने र तस्करी गर्ने काममा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, तिनका भाइभतिजा नै संलग्न छन् । उनीहरूले डोजर, एक्स्काभेटर राख्न थालेका छन् । उनीहरूको माफिया र निकासी गर्नेवालाहरूसँगको सम्बन्ध छ । कमिसन पाएपछि त्यसलाई निकासी दिन स्थानीय प्रहरी प्रशासनले समेत सहयोग पुर्‍याएको छ । पहिला राणाले, पछि राजाले दोहन गरे । त्यसपछि विभिन्न कालखण्डका सरकारका बेलामा पनि यस्तो क्रम रोकिएन । अहिले पनि चुरे दोहन रोकिएको छैन । एकातिर चोरी, तस्करीको बाटो छ । अर्कोतर्फ अवैज्ञानिक ढंगले चुरे क्षेत्रबाट जथाभावी राजमार्ग बनाउने र विस्तार गर्ने कामले दोहन बढेको छ । कान्तिपुरबाट ।


प्रतिक्रिया दिनुहोस !