७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रहरी सरुवामा व्यस्त रहने गृहसचिव न्यौपानेलाई हटाएर अर्याललाई ल्याउने तयारी



काठमाडौं : सरकारले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई परिवर्तन गरेर सामान्य प्रशासन मन्त्रालयमा रहेका एकनारायण अर्याललाई गृहसचिव बनाउने तयारी गरेको स्रोतको दाबी छ । गृहसचिव न्यौपाने अख्तियारबाट गृहमन्त्रालयमा सरुवा भएर आएका थिए । उनलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बुझिएको छ । न्यौपानेको यो ६ महिनामा दुई चोटी सरुवाको लागी फाइल उठेपनि अन्तिममा रोकिएको थियो । उनको कार्यक्षमता कमजोर भएको भन्दै सरकारले उनलाई गृहमन्त्रालयबाट अन्त पठाउन खोजेको हो ।

अर्याल यसअघि सहसचिव हुंदा काठमाण्डुका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन् । उनको गृहमन्त्रालयमा लामो अनुभव छ । अर्यालले कलकत्तामा महावाणिज्यदूतको समेत जिम्मेवारी सम्हालेका थिए । सरकारी जागिरे जिवनको लामो समय गृह प्रशासनमा बिताएका अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाउने पहिलो कार्यकारी अधिकृतका रुपमा उभ्याउन सफल भएका थिए । उता अहिलेका गृह सचिव न्यौपाने नीति निर्माणमा भन्दा पनि प्रहरीको सरुवा बढुवा र व्यक्तिगत काममा बढी सक्रिय रहेको र निर्णय क्षमता समेत कमजोर रहेको बताइन्छ । अहिले गृहसचिव वन्नको लागी श्रम सचिव सुर्य गौतम र पर्यटन सचिव यादव कोइराला समेत लविङमा लागेका छन् । त्यस्तै सरकारले मन्त्रालयका सचिवहरुको समेत सरुवा गर्ने तयारी गरेको छ ।

अर्याल गृह मन्त्रालयमातहत रहेर लामो समय सेवा गरेका व्यक्ति हुन् । उनले आफ्नो करियरको धेरै समय गृह प्रशासनमा बिताए । जहाँ–जहाँ सीडीओ भएर गए त्यहाँ अर्यालले केही न केही सुधार र सकारात्मक परिवर्तनका काम गरेको देखिन्छ । २०७२ सालको भूकम्पका बेला उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि दबाबका बाबजुद मुद्दा चलाउन सफल भएका थिए। कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारवाही अघि बढाएपछि त्यतिबेला अर्यालको प्रशंसा चुलिएको थियो ।अर्याल अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भिक एवं इमान्दार प्रशासकका रूपमा सबैबीच परिचित छन


प्रतिक्रिया दिनुहोस !