सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकाे छ । प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आइतबार एक समारोेहकाबीच नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई जनालाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो । काँग्रेसले सरकारमा सहभागी हुन दुईजना प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको थियो ।
मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गर्नु भएको हो । सामाजिक विकास मन्त्री बिसी सुर्खेतका हुनुहुन्छ भने जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ जुम्लाका हुनुहुन्छ । भौतिक पुर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाइएको हो । लामो समयदेखि नेतृत्वविहीन रहेको सामाजिक विकास मन्त्रालयले बल्ल नेतृत्व पाएको छ । योसँगै मन्त्रीपरिषदले पूर्णता पाएको छ ।
एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि वैशाख ३ गते नेपाली काँग्रेसले विश्वासको मत दिएर सरकार जोगाइ राख्न साथ दिएको थियो । साथै, एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । फ्लोर क्रस गर्ने चार मध्य तीन जना अहिले सरकारमा मन्त्री छन् ।