७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चुरेमा अर्थमन्त्री पौडेलको प्रष्टीकरण, ‘काँचो पहाड चुरेबाट एक डोको पनि बालुवा रोडा उठाइँदैन’



चुरे क्षेत्रबाट कुनै पनि उत्खनन नगरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। सोमबार आयोजित बजेट कार्यान्वयन विषयको छलफलमा बोल्दै उनले चुरे क्षेत्र संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

सरकारले बजेटबाट व्यापार घाटा कम गर्न ढुंगागिट्टी र बालुवाको निकासी खुला गर्ने घोषणा गरेसँगै चुरे क्षेत्र मासिने भन्दै विरोध भइरहेको छ। सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बजेटमार्फत सार्वजनिक सरकारी नीतिको बचाउ गरे। केही व्यक्तिहरु बजेटमा आलोचना गर्ने ठाउँ नभएर तथ्यलाई बंग्याएर प्रस्तुत गरेको उनले बताए।

‘आगामी बजेटमा सबैतिरबाट असाधारण चर्चा पाएको छु तर केही व्यक्ति सुनियोजित छेडखानीमा लागेका छन्। यस विषयमा म के स्पष्ट पार्न चाहन्छु भने चुरेको पहाडबाट एक डोको बालुवा, गिट्टी पनि झिकिने छैन,’ उनले भने।

चुरे काँचो पहाड भएको उनले बताए। पहाडलाई संरक्षण गर्नका लागि सरकारले वृक्षरोपणको नीति लिएको उनले जिकिर गरे। यस्तै बजेट कार्यान्वयनमा शंका नगर्न पनि उनले आग्रह गरे।

आगामी बजेटमा सरकारले व्यापार घाटा कम गर्न ढुंगा गिट्टी निर्यात गर्ने नीति लिएसँगै यो विषयको चौतर्फी आलोचना भइरहेको छ। यसको तत्काल बचाउ गर्न यसअघि अर्थ मन्त्रालयले विज्ञप्ति पनि जारी गरेको थियो। तराईको पर्यावरणमा ठूलो क्षति पुग्ने भएकाले निर्णय नसच्याए प्रदेश सरकारले यसविरुद्ध निर्णय लिने चेतावनी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएका थिए भने संरक्षणविद्हरुले संघीय सरकारले चुरेमाथि कुदृष्टि राखेको भन्दै आलोचना गरेका थिए।


प्रतिक्रिया दिनुहोस !