१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

निषेधाज्ञाको अवधिमा कर नबुझाउने व्यवसायीलाई जरिवाना नलगाउन निजी क्षेत्रको अनुरोध



निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुँदा मासिकरूपमा बुझाउनुपर्ने मुल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएको निजी क्षेत्रले स्पष्टपारेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त प्रेश विज्ञप्ति जारी गरी  विषम अवस्था समेतलाई मनन गरी कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेको छ ।

व्यवसाय सञ्चालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गत बर्षजस्तै समयमा राजस्व बुझाएर आफ्नो दायित्व पुरा गरी सरकारलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

अर्थतन्त्रलाई कोभिडको जोखिमबाट जोगाई अघि लैजान र बजेटको पूर्ण कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने सुनिश्चतता गराउन निजी क्षेत्रले आग्रह गरेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासदेखि देखिएको अर्थतन्त्रको सुधार कोभिड १९ को दोस्रो लहरले अवरूद्ध भएको छ । आर्थिक क्रियाकलाप अवरुद्ध हुँदा अर्थतन्त्रमा त्यसले गम्भीर असर पारेको ठहर निजी क्षेत्रको छ ।

दोस्रो लहरको रोकथामका लागि लगाइएको निषेधाज्ञा/बन्दाबन्दीका कारण उद्यम व्यवसाय प्राय ठप्प भएका छन्  । मुलुकभर करिब ७० प्रतिशत उद्यम व्यवसाय यतिखेर प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !