
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ को रिटमाथि आज सुनुवाई हुने कार्यतालिका भए पनि अन्तिम समयमा आएर स्थगित भएको छ । नेता सुदर्शनकी जीवन साथी अम्बिका चन्दले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतका न्यायाधीश मिरा राणा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले रिटमाथि सुनुवाई गर्ने सर्वोच्चले पेशी सूची सार्वजनिक गरेको भएपनि समय नपुगेको भन्दै पर्सीलाई सारिएको छ ।
सर्वोच्चको २ नम्बर इजलास सुनुवाई हुने भनिएको रिटमा ललितपुर जिल्ला अदालत र नुवाकोट जिल्ला अदालतलाई विपक्षी बनाइएको थियो । अघिल्लो पटक पनि सर्वोच्च अदालतले रिटको सुनुवाई सारेको थियो । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वनमा नभएपछि सुदर्शनको रिहाईको लागि गत शुक्रबार सर्वोच्चमा रिट दायर गरिएको थियो । सहमतिअनुसार सरकारले नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता लिएको छैन । नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता र रिहा गर्ने सहमति गरेपनि सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।