१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

खोप नपाएको भन्दै ट्यांकर चालकले तेल ढुवानी रोके, बुधबारदेखि काठमाडौंका पम्प पनि बन्द हुने



खोप उपलब्ध नगराएको भन्दै पेट्रोलियम ट्यांकर चालकले ढुवानी ठप्प पारेका छन्। ढुवानी ठप्प हुँदा काठमाडौं उपत्यकाका केही पम्प बन्द हुन थालेका छन्।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघको अगुवाईमा आइतबारदेखि अमलेखगंज र काठमाडौंमा तेल ढुवानी बन्द भएको हो। संघले चालकलाई खोप नदिएसम्म तेल ढुवानी नगर्ने अडान लिएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल सक्रिय भएका छन्।

कार्यकारी निर्देशक पौडेलले तत्काल खोप उपलब्ध गराउन विभिन्न सरकारी संस्थालाई गुहारेका छन्। खोपका लागि मंगलबार जिल्ला प्रशासन काठमाडौंमा अहिले केही बेरमा सर्वपक्षीय छलफल छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले ढुवानी ठप्प हुँदा पेट्रोलियम पदार्थको अभाव हुन थालेकोले तत्कालै खोपको व्यवस्था गर्न पहल भइरहेको बताए।

‘तत्कालै खोप उपलब्ध होस् भनेर निगम लागिरहेको छ। जतिसक्दो चाँडो खोप उपलब्ध हुन्छ त्यति चाँडो ढुवानी सुचारु हुन्छ,’ उनले भने, ‘निषेधाज्ञाका कारण सवारी साधन कम चलेर समस्या कम भएको हो। अरु बेलाजस्तो भएको भए धेरै ठूलो समस्या पर्थ्यो।’

पम्प पनि बन्द

तेल बिक्री गर्ने मजदुरलाई खोपको व्यवस्था नगरिएको भन्दै बुधबारदेखि  पेट्रोल पम्प बन्द गर्ने निर्णय व्यवसायीले गरेका छन्।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधबारदेखि बाग्मति भरिका पम्प बन्द हुने बताए।

‘धादिङ वाहेक काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायतका सबै पम्प बन्द हुनेछ,’ उनले भने, ‘सरकारले खोप लगाउन सुरु गरे यो निर्णय फिर्ता हुनेछ।’


प्रतिक्रिया दिनुहोस !