सेयर बजारमा दिनदिनै उछाल आएपछि धितोपत्र बोर्डले लगानीकर्तालाई सचेन हुन भनेको छ।
बोर्डले मंगलबार सूचना जारी गर्दै सेयर बजारमा लगानी गर्दा सुझबुझपूर्ण निर्णय गर्न आग्रह गरेको छ। धितोपत्र बजारको जोखिमलाई मनन गरी लगानी गर्नका लागि बोर्डले आग्रह गरेको छ।
बोर्डले सेयर बजार ऐतिहासिक उचाइमा पुगेको र कारोबार रकम २० अर्ब नजिक पुगेकोमा खुसी ब्यक्त गरेको छ। साथै उचाइमा पुगेसँगै जोखिम बढेको पनि बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ।
‘धितोपत्र बजार जोखिम मुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आँकलन गरेर मात्र लगानी गर्नु पर्दछ। बजारको सर्वमान्य सिद्धान्त अनुसार धितोपत्र बजार संधै बढिरहने मात्र नभई समय क्रममा घटबढ भइ रहने बजार हो,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ।
बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुने भन्दै बोर्डले कुनै पनि धितोपत्रमा लगानी गर्नुपूर्व त्यो कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढीभन्दा बढी जानकारी प्राप्त गरी आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता मूल्याँकन गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुने भनेर लगानीकर्तालाई सम्झाएको छ।
‘लगानीकर्ताको हित संरक्षणका लागि बोर्डले बजारका हरेक क्रियाकलापलाई नजिकबाट अध्ययन गर्ने गरेको र बजार सहभागीको जोखिमको स्तरलाई विश्लेषण गर्ने कार्य समेत गर्दै आएको छ,’ बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘विगतको एक वर्ष अवधिमा सूचिकृत संगठित संस्थाहरुको मूल्य बृद्धि ३०० प्रतिशत र सोभन्दा बढी प्रतिशतले बृद्धि भएको छ।’
बोर्डले मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्याँकन समेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचिकृत संगठित संस्थाहरु छनौट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको जनाएको छ।
सूचिकृत संगठित संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले जनाएको छ।