काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि बहस हुनेछ ।नेपाली कांंग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिट निवेदनमा आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ लगागतले बहस गर्नुहुनेछ ।यसअघि हिजो देउवाको पक्षमा ५ जना वकिलहरुले बहस गर्नुभएको थियो ।
हिजो बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले कुन सांसदले प्रधानमन्त्रीको विश्वासको प्रस्तावमा भोट हाल्न पाउने र कसले नपाउने भनेर छुट्याउने अधिकार राष्ट्रपतिलाई नभएको जिकिर गर्नुभयो ।अर्का अधिवक्ता खम्बबहादुर खातीले प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवाको दाबी पुग्ने भएपनि दुरासय मनसायका साथ प्रतिनिधिसभा विघटन गरिएको तर्क गर्नु भयो ।यसैगरी वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले आफ्नो जिम्मेवारी पुरा नगरेको आरोप लगाउनुभयो ।उहाँले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई कहाँ छ भन्ने प्रश्न गर्नुभयो ।