पछिल्लो समय आयात बढ्दो छ। लकडाउनकै समयमा पनि आयात खासै घटेको छैन।
गत वर्षको लकडाउनमा आयात निकै घटेको थियो। देश पुर्ण रुपमा लकडाउन भएको र सिमा नाका समेत बन्द भएको कारण अत्यावश्यक बस्तुबाहेका अन्य बस्तु निकै कम मात्र आयात भएको थियो।
तर यस वर्षको लकडाउनमा भने आयातमा कमी आएको छैन। देशका अधिकाँश जिल्लामा निषेधाज्ञा लागु भए पनि जेठ महिनामा मात्रै १ खर्ब २९ अर्ब रुपयाँ बराबरको बस्तु आयात भएको छ।
गत बैशाख महिनामा पनि १ खर्ब ४२ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो। बैशाख महिनाको तुलनामा जेठमा आयात सामान्य मात्रै घटेको देखिन्छ।
भन्सार विभिगले उपलब्ध गराएको तथ्याँक अनुसार जेठ महिनासम्ममा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको बस्तु आयात भएको छ। गत वर्षको यसै अवधिमा ११ खर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको बस्तु आयात भएको थियो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष यस्तो आयात २५.६७ प्रतिशतले बढेको हो।
यस अवधिमा निर्यात पनि बढेको छ। गत आर्थिक वर्षको जेठ महिनासम्ममा ८८ अर्ब ३१ लाख रुपैयाँ बराबरको बस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ। यो गत वर्षको तुलनामा ३७.७८ प्रतिशतले धेरै हो।
आयात उच्च रुपले बढ्दा नेपालको ब्यापार घाटा समेत बढेर १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो घाटा १० खर्ब १२ अर्ब रहेकोमा यस वर्ष २४.६१ प्रतिशतले बढेको हो।
आयात र निर्यात दुबै बढ्दा नेपालको बैदेशिक ब्यापार भने बढेको छ। नेपालको बैदेशिक ब्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको जेठसम्ममा यस्तो ब्यापार ११ खर्ब ८८ अर्ब रुपैयाँ थियो।
जेठसम्म्मा कुल बैदेशिक ब्यापारमा आयातको हिस्सा ९१.९४ प्रतिशत र निर्यातको हिस्सा ८.०६ प्रतिशत छ।
जेठसम्ममा पनि डिजेलको आयात सबैभन्दा धेरै छ। ११ महिनामा ७९ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने फलाम तथा स्टिलमा अर्धनिर्मित सामानहरु, सोयाविन तेल र मोबाइल फोनको आयात पनि उच्च छ।
निर्यात तर्फ सोयाविन तेलको निर्यात सबैभन्दा धेरै रहेको विभागको तथ्याँकले देखाउछ। जेठसम्म्मा ४२ अर्ब ३४ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ भने ६ अर्ब ६९ करोड रुपैयाँको अलैचि निर्यात भएको छ।