७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तलबबृद्धि घटुवा गरेर नेपाल प्रहरीका दुई एसपीको निलम्बन फुकुवा



काठमाडौं । आर्थिक अनियमिततामा मुछिएका नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक इन्सपेक्टर निलम्बन फुकुवा भएको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियाको निलम्बन फुकुवा भएको छ । उनीहरु गत मंसिरदेखि निलम्बनमा थिए ।

गृह मन्त्रालयले केही दिनअघि उनीहरुको निलम्बन फुकुवा गरेको हो । उनीहरूमाथिको विभागीय कारबाही पनि हेरफेर भएको छ । यसअघि ग्रेड घटुवा भएकोमा त्यसलाई संशोधन गरी यसपटक खाइपाइ आएको तलबमा तलबबृद्धि घटुवा गरिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी नियमावली २०७१ को दफा १०९(६) अनुसार एसपी यादबको पाँच तथा एसपी बस्नेतको चार तलबबृद्धि घटुवा भएको छ । त्यस्तै इन्सपेक्टर चौरसियाको दुई तलबबृद्धि घटुवा भएको छ ।

यसअघि दुई एसपीको पाँच ग्रेड तथा इन्सपेक्टरको चार ग्रेड घटुवा गर्ने निर्णय भएको थियो । त्यसमा उनीहरुले गृह मन्त्रालयमा लबिङ गरी कारबाहीलाई केही कमजोर बनाएका छन् । ग्रेड रोक्का भन्दा तलबबृद्धि घटुवा नरम सजाय मानिन्छ । यद्यपी उनीहरुको बढुवा भने प्रभावित हुनेछ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको पुष्टि भएपछि उनीहरुलाई कारबाही गरिएको हो । कर्णाली प्रदेशमा हुँदा उनीहरुले आफ्नै मातहतका प्रहरीसँग पैसा उठाउने गरेको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको थियो । रेट नै तोकेर इन्चार्जमा सरुवा गर्ने र संगठित रुपमा भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएको थियो ।

कारबाहीमा परेका दुवै एसपी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । उनीहरु विगतमा पनि पटक पटक कारबाहीमा परेका थिए ।


प्रतिक्रिया दिनुहोस !