७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आज लागूऔषध दुरुपयोग विरुद्धको दिवस



काठमाडौं । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदैछ । नेपालमा यस वर्ष ‘लागूऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी तीनदिने कार्ययोजनासहित विविध कार्यक्रम संचालन भइरहेका छन् ।

यस वर्षको दिवसको अन्तर्राष्ट्रिय नारा भने Share acts on Drugs, Save Lives तय गरिएको छ ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत

संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध सम्बन्धी कार्यालयबाट प्रकाशित विश्व लागूऔषध प्रतिवेदन २०२१ ले लागूऔषध प्रयोगकर्ताको संख्या वर्षेनि बढ्दै गइरहेको देखाएको छ ।

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागूऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत आकलन गरिएको छ ।

नेपालमा लागूऔषध प्रयोगको अवस्था, प्रभावित समूह र क्षेत्रको बारेमा जानकारी लिने उद्देश्यले गरिएको सर्वेक्षणअनुसार नेपालमा लागूऔषध प्रयोगकर्ता १ लाख ३० हजार ४२४ पुगेको आकलन छ जुन कुल जनसंख्याको झण्डै ०.४८ प्रतिशत हो ।

दिवसको अवसरमा सन्देश जारी गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागूऔषधको दुर्व्यसनमा लाग्ने युवा, किशोर, किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् ।

यसको दुरुपयोग तथा अवैध ओसारपसारले सामाजिक अपराध बढाउनुका साथै समाजमा नकारात्मक प्रभाव पारेको छ । नेपालको जनसांख्यिक लाभको रुपमा रहेको युवा समुदायलाई लागूऔषध नियन्त्रणको अभियानमा सरिक गराउन यस दिवसले प्रेरणा दिने मन्त्री पौडेलको विश्वास छ ।


प्रतिक्रिया दिनुहोस !