काठमाडौँ । सरकारले आफूसँग भएका सहमतिहरु कार्यान्वयन नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव सरकारसँग चिढिएको छ ।
गत फागुन २१ गते सरकार र विप्लव पक्षबीच तीन बुँदे सहमति भएको थियो। त्यसमध्ये अन्तिम बुँदामा रहेको देशका विभिन्न कारागारमा रहेका नेकपाका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको विषयमा सहमति भएको महिनौं बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन। विप्लव पक्षका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले अनिच्छा देखाइरहेका छन्। जसका कारण विप्लव र उनको पार्टीका शीर्ष नेताहरू असन्तुष्ट हुन थालेका हुन।
सरकारले नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, केन्द्रीय सदस्य भरत बम र चूडामणि ओलीसहित ३० जना भन्दा धेरै नेता कार्यकर्ता रिहा गर्न बाँकी छ। उत्तिकै संख्यामा मुद्दा लगाएका नेता कार्यकर्ताको मुद्धा फिर्ता हुन सकेको छैन।
गत फागुन २१ गतेयता नेता कार्यकर्ता थप पक्राउ नगरेपनि पुराना ३० भन्दा धेरै नेता कार्यकर्ता छुट्न बाँकी रहेको नेकपाका एक केन्द्रीय सदस्यले बताए। कार्यकर्ता रिहा र मुद्दा फिर्ताका विषयमा विप्लव आफैंले ओलीलाई तीन पटक बालुवाटारमै भेटेर आग्रह गरिसकेका छन्। तर, ओलीले नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता प्रक्रियामै रहेको भन्दै टार्दै आएका छन्।
सहमति पालनामा ओलीले धोका दिन्छन् कि भन्ने भएपछि विप्लव पक्ष सशंकित भएको देखिन्छ। तत्कालीन नेकपामा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरूलाई अल्मल्याएर दुख दिएजस्तै आफूहरूलाई पनि त्यसरी नै दुःख दिने हुन् कि भन्ने भय नेकपा नेताहरूमा देखिएको ती केन्द्रीय सदस्यले बताए।
विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक मन्तब्य दिदै अब देशमा कोही पनि हिंसाको बाटोमा नरहेको बताउनुभएको थियो । देश अब शान्तिको बाटोमा हिडेको उहाँको दाबी छ ।