७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

गुठीको संस्थानका खोटाङदेखि बझाङसम्मका जग्गा व्यक्तिको नाममा



काठमाडौं । देशभरीका गुठीका जग्गा भूमाफियाका कारण जोखिममा परेका छन् । गुठीका विभिन्न जिल्लाका बहुमुल्य जग्गाहरु जालसाझी गरी व्यक्तिको नाममा लगिएको भेटिएको छ ।

पूर्व न्यायाधीश मोहनरमण भट्टराई अध्यक्षको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धि जाँचबुझ आयोगले त्यसरी व्यक्तिको नाममा लगिएका जग्गा गुठीकै नाममा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अनुसार काठमाडौं बबरमहलको लक्ष्मीनारायण गुठीदेखि खोटाङको हलेसी महादेव मन्दिर आसपासको गुठीको जग्गाहरु व्यक्तिका नाममा लगेर बिक्रीवितरण भइरहेको छ ।

काठमाडौंको बबरमहलमा रहेको गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरिएकामा सरकारका नाममा फिर्ता ल्याउन सिफारिस भएको छ । हाल काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने लक्ष्मीनारायण गुठीको तीन रोपनी ६ आना ३ पैसा दुई दाम जग्गा व्यक्तिको नाममा छ ।

कित्ता नम्बर ५५ मा रहेको वीरगञ्जको गुठीको नाममा रहेको जग्गा फिर्ता ल्याउन पनि आयोगले सिफारिस गरेको छ । २०२० सालमा नै त्यहाँको लक्ष्मीनारायण गुठीको जग्गा गोपाल श्रेष्ठको नाममा राजीनामा पास भएको थियो । मालपोत कार्यालय पर्साबाट बेजिल्ला पास गरी गुठीको जग्गा व्यक्तिको नाममा लगिएको आयोगको छानबिनमा खुलेको छ ।

उक्त जग्गा हाल इन्दिरा श्रेष्ठ र जयपाल श्रेष्ठको नाममा रहेको मालपोत कार्यालयको विवरणमा उल्लेख छ । ‘मन्दिर स्थापना गर्दा वि.सं. १९४९ मा दाताले देखाएको शिलालेखमा उल्लेख भएको मन्दिर सहितको गुठीको जग्गा भएको हुनाले सो गुठीको जग्गा अनाधिकृत रुपमा वीरगंज मालपोतबाट व्यक्तिका नाममा दर्ता पारित भएको देखिन्छ,’ आयोगले भनेको छ ।
व्यक्तिका नाममा पुगेको गुठीको जग्गा गुठी संस्थानले बदर गर्न सक्ने हुनाले सोही अनुसार संस्थानलाई निर्देशन दिन र अनाधिृकत रुपमा व्यक्तिको नाममा गुठीको जग्गा पारित गर्ने मालपोत कार्यालय पर्साका कर्मचारीहरू र जमिनको स्वामित्व ग्रहण गर्ने व्यक्ति उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गराउन आयोगले सिफारिश गरेको छ ।

त्यस्तै, पूर्वको चर्चित धार्मिक गन्तव्य हलेली महादेव मन्दिरको जग्गा समेत व्यक्तिको नाममा कायम गरिएको आयोगले छानविनले देखाएको छ । हाल हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा रहेको एक सय ४३ रोपनी सात आना जग्गा हिनामिना भएको हो । हलेसी महादेव गुठीको जग्गा महन्थ पूजारी सहितका व्यक्तिले आफ्नो नाममा दर्ता गरी बिक्रिवितरण गरेको आयोगले जनाएको छ ।

‘सो जग्गाहरूको व्यक्तिको नाममा स्रेस्ता गुठी संस्थान ऐन २०३३ को दफा ३९(१) बमोजिम बदर गरी लगत कट्टा समेत गरी हलेसी महादेवको तैनाथी गुठीमा लगत कायम गर्न सम्बन्धित गुठी संस्थानलाई नेपाल सरकारबाट निर्देशन हुनुपर्ने’ सिफारिस आयोगले गरेको छ ।

जनकपुरमा गुठीका १० बिगाहाभन्दा धेरै जग्गा महन्तहरुले नै बिक्री गरेको आयोगले जनाएको छ । विभिन्न कित्ताका १० बिगाहा १ कठ्ठा १७ धुर जग्गा महन्तहरुले आफ्नो नाममा दर्ता गरी हक हस्तान्तरण समेत गरी हिनामिना गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सो जग्गाको श्रेष्ता बदर गरी सो जग्गा गुठीको नाममा कायम गर्न सिफारिस गरिएको छ । गुठीको जग्गा आफ्नो नाममा दर्ता गरी हक हस्तान्तरण गर्ने जगन्नाद दास लगायतमाथि भ्रष्टाचारको कसुरमा छानबिन गर्न भनिएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा पनि ६ रोपनी ७ आना एक पैसा जग्गा हिनामिना भएको छ । कित्तार नम्बर ५९५ मा पर्ने कमलपोखरी गुठीको जग्गा मोही नै नभएको व्यक्तिलाई मोही मानी गुठी रैतानी नम्बरीमा दर्ता गर्ने गरी गुठी संस्थान सञ्चालक समितिबाटै निर्णय गरी व्यक्तिको नाममा दर्ता गरिएको छ । गुठी संस्थान ऐन विपरीत त्यस्तो निर्णय भएकाले त्यसलाई बदर गरी सो जग्गा कमलपोखरी नै कायम गर्न र यसमा संलग्नलाई भ्रष्टाचारसम्बन्धि कानूनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

बाँकेको बागेश्वरी गुठीको ८४ विगाहा जग्गा हिनामिना भएको आयोगको छानबिनमा खुलेको छ । पटक पटक गरेर जग्गा व्यक्तिको नाममा रैतानी करार गरिएको हो ।

मन्दिरका पूजारीबाटै १७ विगाहा जग्गा आफ्नो नाममा राखेर बेचबिखन गरेका हुन् । जग्गा कमाउने व्यक्तिहरुको नाममा गुठी तैनाथी जग्गा रैतानी परिणत गरेकाले सो जग्गा बागेश्वरी गुठीकै नाममा फिर्ता ल्याउन मालपोत कार्यालय बाँकेलाई निर्देशन दिन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

त्यस्तै, रुपन्देहीको लक्ष्मीनारायण मठको जग्गा पनि व्यक्तिको नाममा दर्ता गरिएको आयोगले जनाएको छ । सिद्धार्थनगर–६ मा रहेको लक्ष्मीनारायण मठको कित्ता नम्बर १६५ मा रहेको ३ कठ्ठा दुई धुर जग्गा अनियमिता भएको हो । मठका महन्थ जगन्नाथ दास वैष्णवले सञ्जय कुमार पाण्डे र उदयमान पाण्डेको नाममा राजीनामा पारित गरेका थिए ।

मठको जग्गालाई निजी जस्तो गरी जग्गाको दर्ता बदर गर्न गुठी संस्थानलाई निर्देशन दिनुपर्नै प्रतिवेदनमा सिफारिस गरिएको छ । गुठीको जग्गाको श्रेस्ता सच्याई हक हस्तान्तरण देखिएकाले यसमा संलग्न कर्मचारीमाथि समेत कारबाही गर्नुपर्ने सिफारिशमा उल्लेख छ ।

जनकपुरमा पनि गुठीको जग्गा सट्टापट्टाको नाममा हिनामिना भएको पुष्टि भएको छ । स्थानीय सञ्जय कुमार मिश्रसँग मिलेर जनकपुरको सिट नम्बर १३९६–०८ नम्बरको कित्ता नम्बर ४८ को १८ धुर जग्गा मिश्रले लिएका हुन् । उनको कित्ता नम्बर १०८ मा रहेको जग्गा गुठीलाई दिने भनेर बहुमुल्य जग्गा आफ्नो नाममा दर्ता गराएका हुन् । यसमा अनियमितता भएको आयोगको ठहर छ । गुठी संस्थानको प्रधान कार्यालयबाट समेत सहमति नहुँदा जग्गा साटफेर गरेर अनियमितता भएको थियो ।

चक्लाबन्दी मिलाउने प्रयोजनका लागि जग्गा सट्टापट्टा गर्न सञ्चालक समितिबाट निर्णय भएको देखिए पनि सट्टापट्टा गर्नुपर्ने आवश्यकता कहींकतै पुष्टि नभएको र के कसरी चक्लाबन्दी मिलाउने अवस्था रह्यो पनि नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘सञ्जय कुमार मिश्र र गुठी संस्थानका व्यक्तिहरुबीच बदनियतपूर्वक मिलेमतो गरी कित्ता नम्बर ४५ को १८ धुर जग्गा सट्टापट्टा गरी लिनेदिने गरेको पाइएकोले सो कार्य गुटी संस्थान ऐन, २०३३ को दफा ५१ भावना विपरीत देखिँंदा सोही ऐनको दफा ३९ बमोजिम पूर्ववत् अवस्थामा ल्याउने गरी गुठी संस्थानलाई नेपाल सरकारबाट निर्देशन हुनुपर्ने देखिएकाले सोही बनोजिम हुन नेपाल सरकारलाई सिफारिस गरिएको छ ।’ आयोगको प्रतिवेदनमा भनिएको छ ।

यसैगरी महोत्तरीको मटिहानीमा पनि गुठीको जग्ग महन्तको नाममा दर्ता गरिएको पाइएको छ । कित्तार नम्बर ९० मा पर्ने १७ कठ्ठा ५ धुर जग्गा १७ जेठ २०५६ मा जगन्नाथ दास वैष्णवका नाममा काय भएको थियो । गुठीको जग्गाको व्यक्तिको नामबाट बदर गरी लक्ष्मीनारायण मठ मटिहानीको नाममा कायम गर्न आयोगले सिफारिस गरेको छ । साथै आयोगले लक्ष्मीनारायण मठका धेरै जग्गाहरु चेलाका नाममा दर्ता भएकाले यसको खोजी गरी गुठीकै नाममा ल्याउन समेत सिफारिस गरेको छ ।

स्याङजाको गणेशपुरमा रहेको मुक्तिनाथ सदावर्त गुठीको जग्गा पनि हिनामिना भएको छ । कित्ता नम्बर ४०६ मा पर्ने जग्गा फिल्डबुकमा किसानको महल खाली र जग्गावालाको महलमा राजगुठी लेखिएको जग्गाको स्रेस्ता नै कायम नगरिएको आयोगले औंल्याएको छ ।

पाल्पाको चर्चित पर्यटकीय क्षेत्र रानीमहलस्थित खङग भक्तेश्वर गुठीको जग्गा हिनामिनाबारे समेत आयोगले छानबिन गरेको थियो । गुठीको नाममा रहेको १२ रोपनी २ आना दुई पैसा जग्गा मुक्तेश्वर महादेव गुठीको नामा जालसाझीपूर्वक लगिएकाले सच्याउन भनिएको छ । पाल्पाको मालपोत कार्यालयमा २०६२ सालका् १८ जेठमा आगलागी हुँदा सबै कागजपत्र जलेका थिए ।

कृत्रिम कागजपत्र तयार पारी दुषित मनसायपूर्वक खङग भक्तेश्वर गुठीको जग्गालाई मुक्तेश्वर महादेव भनी लेखाई स्रोत बनाएको र सो जग्गाहरु रैतान समेत नगरिएको आयोगले जनाएको छ । नक्कली कागजपत्र तयार गरी अर्काे गुठीको नाममा जग्गा दर्ता गर्ने कर्मचारी, स्थानीय निकायका पदाधिकारी र आफ्ना नाममा जग्गाद दर्ता गराउने व्यक्तिहरुलाई समेत आयोगले भ्रष्टाचार मुद्दामा कारबाही सिफारिस गरेको छ ।

बझाङको चैनपुरस्थित शिलालय गुठीको ८ रोपनी १३ आना ३ दाम जग्गा पनि व्यक्तिको नाममा गएको औंल्याइएको छ । कित्ता नम्बर ६५९ र ६६४ मा रहेको गुठीको जग्ग व्यक्ति बिशेषको नाममा दर्ता भई हक हस्तान्तरण भएकाले शिवालय गुठीकै नाममा कायम गर्न नेपाल सरकारबाट गुठी संस्थानलाई निर्देशन दिन भनिएको छ ।-नेपालवाचबाट साभार गरिएको


प्रतिक्रिया दिनुहोस !