४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

यातायात व्यवसायी र मजदुरको चेतावनी, ‘माग पूरा नभए असार १८ बाट देशैभर सबै सवारीसाधन चलाउँछौं’



नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात ‍ मजदुर संघ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सोमबार सयुक्त विज्ञप्ती जारी गर्दै माग पुरा नभए असार १८ गतेबाट सबै सवारीसाधन संचालन गर्ने चेतावनी दिएका हुन्।

मंगलबारदेखि लागु हुने गरी २५ सिटभन्दा बढी क्षमता सार्वजनिक सवारी साधनलाई मात्रै जोरबिजोरका आधारमा चल्न दिने गरी काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निर्णय गरेको छ। उक्त निर्णयप्रति यातायात व्यवसायी तथा मजदुरहरुले आपत्ती जनाएका हुन्।

उनीहरुले असार १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको कार्यकक्षमा डिसिसीएमसी सहित सरोकारवालाहरुको सुझाव र छलफलमा भएको निष्कर्ष विपरित रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

वैशाख १६ गतेबाट देशैभर निषेधाज्ञा जारी भएपछि दुई महिनादेखि सार्वजनिक सवारीसाधन ठप्प छ ।

‘सार्वजनिक सवारीका साधनबाहेक निजी सवारी, अन्य व्यापार, व्यवसाय तथा बजार क्रमशः खुल्दै गइरहेका छन् । तर, अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने जस्तो महत्त्वपूर्ण सार्वजनिक यातायात क्षेत्र भने सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यवहारिक छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सार्वजनिक सवारी साधन सुरक्षित रुपमा सञ्चालन गर्ने विषयमा हामीले दिएका सुझावलाई वेवास्ता गर्दै सरकारले एकांकी रुपमा असार १५ गतेबाट सवारी सञ्चालन गर्ने विषयमा अव्यवहारिक निर्णय सच्याउन आग्रह गर्दछौं ।’

आन्तरिक हवाई यातायातसमेत सुरु गरिएको अवस्थामा सरकारले गरेको निर्णयले गम्भीर संकट उत्पन्न हुने देखिएको यातायात व्यवसायीहरुको भनाइ छ।

उक्त निर्णयलाई सच्याउँदै सबै प्रकारका र देशैभरीका सार्वजनिक सवारी साधनहरु (लामो, मध्यम र छोटो दुरीका) सञ्चालन अनुमतिका लागि अनुरोध गरिएको छ।

त्यस्तै, २०६९ सालदेखि सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर समायोजन हुन नसकेको बताएका छन्। यातायात व्यवस्था विभागले भाडा बढाउनुपर्ने प्रतिवेदन तयार पारेर पठाए पनि मन्त्रालयले वास्ता नगरेको भन्दै गुनासो गरेक छन्। सार्वजनिक सवारी साधनमा काम गर्ने श्रमिकलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिनसमेत आग्रह गरेका छन्


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय