१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

७२ करोडको नयाँ भवनमा सर्दै लोक सेवा आयोग



काठमाडौं । लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने भएको छ । स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण गरिसकिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा लोक सेवा आयोगको नयाँ भवन निर्माण गरिएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले भने, ‘साउन ३ गतेको अन्तरवार्ता नयाँ कार्यालयमा गर्ने सूचना प्रकाशित भइसकेको छ, त्यसअघि नै हामी कमलपोखरीमा सर्छौं ।’

लोक सेवा आयोगको केन्द्रीय कार्यालय पहिले कमलपोखरीस्थित आफ्नै जग्गामा थियो । त्यहाँको राणाकालीन भवन युवा तथा खेलकुद मन्त्रालयले प्रयोग गरेपछि लोक सेवा आयोग अनामनगरस्थित कार्यालयमा सरेको थियो । २०७२ को गोरखा भूकम्पमा कमलपोखरीको त्यो पुरानो भवन भत्किएको थियो ।

त्यसपछि २०७४ चैत ५ गते तीन वर्षे निर्माण सम्झौता गरिएको थियो । लकडाउन लगायतका समस्याले तोकिएको अवधिमा काम नसकिएको भन्दै पुनः ३ महिना म्याद थपिएको थियो । निर्माण सम्झौताको त्यो म्याद यही असार २५ गते सकिंदै छ ।

यद्यपि लोक सेवा आयोगका तत्कालीन अध्यक्ष उमेश प्रसाद मैनालीले गत फागुनमै नयाँ भवन उदघाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !