१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

लोक सेवाका रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन हुने



काठमाडौँ । लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।

पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो ।

लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले स्वास्थ्यसम्बन्धी मापदण्ड र सङ्क्रमणकालीन विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ । रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ । प्रवक्ता सुवेदीले रोकिएका परीक्षालाई छिटो गर्नका लागि दुईदेखि तीन सिफ्टमा जाँच गर्ने तयारी रहेको समेत जानकारी दिनुभयो ।

प्रवक्ता सुवेदीले अघिल्लो वर्षका बाँकी अधिकांश परीक्षा असोजसम्म सक्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । लोक सेवा आयोगले लिने सङ्गठित संस्थाहरूको विज्ञापन भइसकेको परीक्षा पनि सँगसँगै गरिने उहाँले स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय