७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययनका लागि छवटा अन्तर्राष्ट्रिय कम्पनी छनोट



काठमाडौँ । धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरिएको छ । धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आवेदन दिएका ११ वटा परामर्शदाता कम्पनीमध्ये छवटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा समावेश गरेको जानकारी दिनुभयो ।

चीनका क्यापिटल इन्जिनियरिङ एन्ड रिसर्च इनकर्पोरेसन र सान्डोङ जियो–सर्भिसिङ एन्ड म्यापिङ इन्स्टिच्युट, दक्षिण अफ्रिकाको फ्लुर सा लिमिटेड, अस्ट्रियाको हन्स बेसिन्गर कन्सल्टेन्सी÷एक्सक्लुटिभ कन्सल्टिङ इन्जिनियरिङ एन्ड प्लानर प्रालि (जेभी) तथा भारतको एमएन डस्टर एन्ड कम्पनी/माइनिङ सर्भिस इन्डिया (जेभी) र मेकन लिमिटेड छनोट भएको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो ।

अबको तीन महिनाभित्र छनोट भएका कम्पनीसँग सम्झौता भई काम अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा रहेको नवलपुर जिल्लाको होप्सेकोट गाउँपालिकाको नाम्जाकोटदेखि धौवादीसम्म करिब १६० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानी रहेको अध्ययनले देखाएको छ । १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलाम खानीको भण्डारमा १० करोड टन फलाम रहेको अनुमान गरिएको छ ।

ड्रिलिङको काम अन्तिम चरणमा

यो खानीमा फलाम भण्डारणको मात्रा यकिन गर्न अहिले खानी क्षेत्रमा ड्रिलिङ (प्वाल पार्ने) काम भइरहेको छ । धौवादी क्षेत्रमा तीन र पोखरी क्षेत्रमा दुई ठाउँमा ड्रिलिङ क्षेत्र निर्धारण गरी ड्रिलिङ कार्य भइरहेका छन् । ड्रिलिङ कार्य अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो ।

अहिले ड्रिलिङ गरिएका क्षेत्रबाट सङ्कलित करिब तीन सयवटा स्याम्पलको पुनः परीक्षण कार्य खानी विभागकै प्रयोगशालामा भइरहेको जानकारी दिँदै कार्यकारी अधिकृत चन्दले यस परीक्षणबाट सो क्षेत्रमा फलामको मात्रा र भण्डारणबारे यकिन हुने बताउनुभयो ।

चीनको छेन्दुमा रहेको साउथ–वेस्ट मेटलोजिकल एन्ड जियोलोजिकल टेस्टिङ सेन्टरले गरेको परीक्षणमा समेत धौवादी क्षेत्रमा फलाम (पिग आइरन) उत्पादन गर्न सकिने प्रमाणित गरी प्रतिवेदन खानी विभागलाई बुझाइएको छ ।


प्रतिक्रिया दिनुहोस !