आजभन्दा १४ कारोबार दिनअघि सेयर बजारमा अहिलेसम्मकै सर्वाधिक झण्डै १९ अर्ब ४२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो।
त्यसपछि नियामक निकायले सेयर बजारमा निगरानी बढाउँदै गएपछि सुस्ताउन थालेको कारोबार रकम दुई हप्तापछि आज पाँच अर्बको लाइनमा आइपुगेको छ।
बुधबार म्युचुअल फन्डका एकाइसहित २२० कम्पनीको एक करोड ६२ लाख कित्ता पाँच अर्ब ७२ करोड रुपैयाँमा किनबेच भए। यसअघि गत वैशाख २८ गते यो अवधिको सबैभन्दा कम ५ अर्ब ६६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
यसरी कारोबार रकम खुम्चिँदा किनबेच भएका सेयरको कित्ता संख्या पनि झन्डै एक चौथाईमा झरिसकेको छ। ठिक एक महिनाअघि (मे ३० मा) करिब १६ अर्ब ८० करोड रुपैयाँबराबरका तीन करोड २८ लाख कित्ता सेयर (म्युचुअल फन्ड र डिबेन्चरबाहेक) कारोबार थियो, जुन आज जुन ३० मा एक करोड एक लाख कित्तामा आइपुगको छ।
कारोबार रकम र कित्ता संख्या दुवै लगभग उस्तै अनुपातले खस्किएकाले पनि सेयर बजार ३००० को विन्दुबाट झरेपछिको टेवा विन्दु मानिएको २७८० उन्मुख देखिएको छ। आज नै पनि बजार सूचक नेप्से २७८२ विन्दुसम्म झरेर पछि रिकभर गर्दै बजार बन्द हुँदा २८२३ मा पुगेर रोकिएको हो।
नियामक निकायको निगरानी र निषेधाज्ञा खुकुलो हुँदै जाँदा सेयर बजारबाट अल्पकालिन लगानीकर्ता बाहिरिने क्रम बढेपछि कारोबार रकम दिनप्रतिदिन घटिरहेको बजारका जानकारहरुको भनाइ छ।
कारोबार रकम घटबढ हुनुमा स्टक ब्रोकरको ठूलो हात रहेको पुँजीबजारका सक्रिय लगानीकर्ता सोभन घिमिरे बताउँछन्।
केही दिनअघिसम्म कसैले १० लाख रुपैयाँ कोल्याट्रल राख्दा ब्रोकरले ४० लाख रुपैयाँ थपेर कोल्याट्रल देखाइदिन्थे। खातामा कोल्याट्रल भएपनि नयाँ लगानीकर्ताहरुले सेयर किनबेच गरिराख्थे। त्यसले कारोबार रकम ह्वात्तै बढाइ दिएको थियो। अहिले भने नियामक निकायको कडाइपछि ब्रोकरले लगानीकर्तालाई काल्पनिक कोल्याट्रल दिन बन्द गरेका छन्।
‘बाँकी रहेको हिसाब मिलाउन ब्रोकरबाट चर्को दबाब आएपछि नयाँ लगानीकर्ताले घाटा खाएरै भएपनि सेयर बेचेर पैसा तिरिरहेका छन्। यसले गर्दा कारोबार रकम र सूचक दुवै घटिरहेको हो,’ घिमिरे भन्छन्।
बजारको वास्तविक कारोबार रकम पनि ४/५ अर्ब रुपैयाँ नै रहेको उनको दाबी छ। किनभने १० लाख रुपैयाँ मात्रै हुनेले पनि ५० लाखसम्मको सेयर किनबेच गरिरहेका थिए। अहिले जोसँग जति पैसा छ त्यतिमात्रै सेयर किनबेच भइरहेको उनले बताए।
मौद्रिक नीतिसमेत कसिलो आउने आशंकामा लगानीकर्ता छन्। त्यसैकारण पनि ठूला लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेकाले कारोबार रकम पनि खुम्चिदै गएको अर्का एक लगानीकर्ताले बताए।
बैंकिङ क्षेत्रमा तरलताको अभाव चुलिएको असार मसान्तको दबाब पनि रहेकाले यसको प्रभाव पनि सेयर बजारमा परेको लगानीकर्ताको भनाई छ।
बुधबार एक समय ४० अंकसम्म घटिसकेको बजार फाइनान्स कम्पनीको मूल्य बढेसँगै चार अंक मात्रै घटेर २८२३ विन्दुमा बन्द भएको छ।