७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीले संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजे ; दिनानाथ शर्मा



काठमाडै । राष्ट्रियसभामा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक संसद विघटन गरेर गिनीज बुकमा नाम लेखाउन खोजेको बताएका छन् । राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले हामीलाई संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाउन आवश्यक नभएको उल्लेख गरे ।

उनले संसद विघटन गर्नु संविधान विपरितको काम रहेको बताउँदै प्रधानमन्त्रीले संसद मात्र नभई कम्युनिष्ट आन्दोलन नै विघटन गर्न खोजेको आरोप लगाए । सांसद शर्माले प्रधानमन्त्रीले अब आत्मालोचना गरेर अघि बढ्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री ओलीको दम्भका कारण नेकपा फुट मात्र नभई अहिले स्वयं एमाले पनि फुटको संघारमा पुगेको बताए ।

उनले अध्यादेशबाट मुलुक चलाउने हो भने देश निर्दलीयता महेन्द्र पथमा जाने बताए । उनले प्रधानमन्त्रीले देशका लागि हित गर्न नसकेको उल्लेख गर्दै संसदीय सर्वोच्चतालाई आत्मसात गर्न आग्रह गरे । सांसद शर्माले अहिले देशमा सबैभन्दा ठूलो प्रतिगमनको संकट रहेको बताउँदै पार्टीभित्रको भिन्न मतको सम्मान गर्न नसक्दा पार्टी र लोकतन्त्र कमजोर बनेको उल्लेख गरे ।

उनले भने– ‘वर्षौदेखि सँगै लडेका जेल नेल भोगेका सहकर्मीलाई निषेध गर्ने काम भएको छ । आफ्नो पार्टीभित्र आफ्नो गुटलाई लिएर मात्र हिँड्ने पद्धतिले लोकतन्त्र तहसनहस भएको छ ।’ उनले अहिले नेपालको प्रणाली प्रधानमन्त्रीय प्रणाली कि राष्ट्रपतीय प्रणाली हो भन्दै प्रश्न गरे । उनले अहिलेको प्रणाली प्रधानमन्त्रीय र राष्ट्रपतीय प्रणाली दुबै सर्वेसर्वा हुने प्रणाली नभएको बताए । अहिलेको सर्वेसर्वा प्रणाली संसदीय प्रणाली रहेको बताउँदै संविधान बनाउने बेला प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणालीलाई सर्वेसर्वा बनाउन आग्रह गर्दा त्यो बेला नबनाइएको उल्लेख गरे ।

उनले बुझाइमा अस्पष्टता भएका कारण प्रधानमन्त्रीले अहिले बढी अधिकार प्रयोग गर्न खोजेको उल्लेख गरे । उनले नेपालमा सहमति सहकार्यको राजनीतिक हुने गरेको बताउँदै त्यसलाई छोडेर जान नहुने बताए । उनले १३ लाख जेष्ठ नागरिकले पहिलो डोजको खोप लगाएको भन्दै दोश्रो खोप कहिले ल्याउने भन्दै प्रश्न गरे । उनले जेष्ठ नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उल्लेख गर्दै कुटनीतिक माध्यमबाट खोप ल्याउन सरकार असफल भएको बताए ।
उनले सरकारले बजेटमार्फत चुरेको गिटी बालुवा भारतलाई बिक्री गर्ने योजना ल्याएको भन्दै त्यसको बिरोध पनि गरे ।


प्रतिक्रिया दिनुहोस !