४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

सार्वजनिक निकायको खरिदसम्बन्धी काम गर्ने कर्मचारीको योग्यता निर्धारण



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायमा खरिदसम्बन्धी कार्य गर्ने कर्मचारीको योग्यता निर्धारण गरेको छ । सार्वजनिक निकायको खरिद कार्यमा काम गर्ने कर्मचारीको न्यूनतम योग्यता निर्धारण गरी सबै सार्वजनिक निकायमा एकरूपता ल्याउने उद्देश्यले सचिवस्तरीय निर्णयबाट बिहीबार कर्मचारीको योग्यता निर्धारण मापदण्ड २०७८ लागू गरिएको हो ।

नयाँ मापदण्डअनुसार सार्वजनिक निकायले आफूअन्तर्गतको सार्वजनिक खरिद प्रयोजनका लागि खरिद एकाइ प्रमुखसमेत तीनदेखि पाँच जना रहने गरी खरिद एकाइ गठन गर्नुपर्ने, यसरी गठन गर्र्दा प्रशासनिक, प्राविधिक र लेखासम्बन्धी काम गर्ने कर्मचारीमध्येबाट खरिदसम्बन्धी ज्ञान भएका र तालिम लिएका कर्मचारीलाई समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । कुनै कार्यालयमा स्थायी रूपमा नै खरिद महाशाखा, शाखा वा एकाइ रहेको छ भने त्यसको प्रमुखको संयोजकत्वमा खरिद एकाइ गठन गर्नुपर्नेछ ।

त्यस्तै खरिद एकाइ प्रमुख र सदस्यको योग्यता तोक्दा मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेकका कर्मचारीमध्येबाट वरिष्ठ कर्मचारीलाई खरिद एकाइ प्रमुखको जिम्मेवारी तोक्नुपर्नेछ । कुनै निकायको सङ्गठन संरचनामा स्थायी रूपमा खरिद महाशाखा, शाखा वा एकाइ रहेको छ भने त्यही निकायको प्रमुखलाई खरिद एकाइको प्रमुखको जिम्मेवारी दिनुपर्ने मापदण्डमा उल्लेख छ ।

एकाइ प्रमुख तोक्दा सार्वजनिक निकायको प्रमुख जुन श्रेणी वा तहको रहेको छ, त्योभन्दा एक श्रेणी वा तहमुनिका कर्मचारीलाई तोक्नुपर्ने र यसरी एक तह वा श्रेणीमुनिको कर्मचारीलाई तोक्न सम्भव नभएका दुई श्रेणीमुनिका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिन सकिनेछ ।

नयाँ मापदण्डले खरिद एकाइको सदस्यमा मूल्याङ्कन समितिका निर्धारित पदाधिकारीबाहेक र खरिद एकाइ प्रमुखबाहेकका कर्मचारीमध्येबाट खरिद एकाइका सदस्यको जिम्मेवारी निर्धारण गर्नुपर्नेछ । त्यस्तै सदस्यमा सम्बन्धित सार्वजनिक निकायका खरिद कार्यको प्रकृति हेरी निर्माण परामर्श मालसामान वा अन्य सेवाको खरिद प्रकृतिसँग मिल्ने कार्य क्षेत्रका काम गरेका कर्मचारीलाई तोक्न प्राथमिकता दिनुपर्नेछ ।

सार्वजनिक निकायमा लेखासम्बन्धी कर्मचारी एकभन्दा बढी रहेको अवस्थामा वरिष्ठ कर्मचारी मूल्याङ्कन समितिमा रहने भएकाले त्यसभन्दा कनिष्ठ लेखाको कर्मचारी खरिद एकाइमा राख्न सकिने मापदण्डमा उल्लेख छ तर लेखासम्बन्धी कर्मचारी एक जना मात्र रहेको अवस्थामा भने निजलाई सदस्यका रूपमा राख्न पाइने छैन ।

त्यस्तै बोलपत्र मूल्याङ्कन समितिमा काम गर्ने कर्मचारीको योग्यता पनि तोकिएको छ । मूल्याङ्कन समितिको विशेषज्ञ हुनेले सम्बन्धित विषयमा कम्तीमा पनि स्नातक उत्तीर्ण भएको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष कार्य गरेको अनुभव प्राप्त हुनुपर्नेछ ।

खरिद सम्झौता व्यवस्थापन÷कार्यान्वयनमा काम गर्ने कर्मचारीको हकमा भने उक्त कर्मचारीले खरिद कार्यको प्रकृतिसँग मेल खाने विषयमा प्राविधिक ज्ञान र अनुभव भएको हुनुपर्नेछ । त्यस्ता व्यक्ति सम्बन्धित कार्यालयमा उपलब्ध नभएमा सार्वजनिक निक(ायका प्रमुखको स्वीकृतिमा अन्य सार्वजनिक निकायसँग सहयोग लिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय