१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह



काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा विहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको छ । अध्यक्ष ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान नेता नेपाललाई आग्रह गरेको स्रोतले बताएको छ । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच बुधबारदेखि नै निरन्तर छलफल भएको थियो । यसबीचमा हिजो बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

माधव पक्षको बैठकपछि पनि दुवै पक्षका नेताहरू छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । दोस्रो तहका तहका नेताहरूकै आग्रहमा ओली र नेपालबीच संवाद भएको हो ।

माधव पक्ष पूर्वमाओवादीबिनाको २०७५ जेठ २ को बैठक नबोलाइएको र अझै पनि राजनीतिक विषयमा सहमति भइनसकेकोले आफूहरूको सहमतिबिना एकतर्फी बैठक बोलाइएको भन्दै सहभागी नहुने अडानमा छ । संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका आफ्ना कार्यदलका सदस्यमार्फत नेता नेपालले बैठक पर सार्न आग्रह गरेका छन् । बैठकको मिति सारेर निकास खोज्न नेपाल पक्षधरका नेताहरूले अन्य नेतामार्फत पनि केपी ओलीलाई सन्देश पठाएका छन् ।

यसैबीच केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाएका छन् ।

आज बिहान ११ बजे बालुवाटारमा तय गरिएको बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उनीहरूको पद तोकेर पत्र पठाइएको कार्यालय सचिव तामाङले नेपाल प्रेसलाई बताए ।

यो बैठक माधव नेपाल पक्षको माग र सर्वोच्चको आदेशपछि महाधिवेशन आयोजक कमिटी भंग गरेर बोलाइएको हो । बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम भने सकारात्मक रहेको बताइएको छ ।

एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटी बैठक डाकेको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय