१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बामदेव गौतमलाई बिशेष जिम्मेवारी



काठमाडौं । नेकपा एमालेमा बामदेव गौतमले विशेष जिम्मेवारी पाएका छन् । पार्टीका उपाध्यक्ष गौतमले पार्टी काममा फर्किएलगत्तै बिशेष जिम्मेवारी पाएका हुन् ।

एकतापूर्वको पदाधिकारीसहित एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका उपाध्यक्ष गौतमलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको काम सम्हाल्न भन्दै बिशेष जिम्मेवारी दिएका हुन् ।

केन्द्रीय कमिटीका एक सदस्यका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी एकतालाई निश्कर्षमा पुर्याउने जिम्मेवारी सम्हाल्नोस् भन्दै बिशेष काम दिएको हो ।

गौतम नेकपा बिभाजनपछि कुनै पनि समुहमा नलागी एकता संयोजन समितिको नाममा सक्रिय भएका थिए । उनले नेपालमा कम्युनिष्ट एकता हुनुपर्ने पक्षमा गतिविधि गर्दै आएका थिए ।

गौतमले आफूले अध्यक्ष ओलीलाई नै साथ दिने बताएपछि ओलीले माधव समुहलाई पार्टीको हितमा सहमति गरी फर्काउने जिम्मा दिएको स्रोतको भनाई छ ।

आजको बैठकमा ओलीतिर हेर्दै गौतमले भनेका छन्, ‘अब म तपाईंसँग आएँ, यता–उता जान्न ।’ एमालेका दुई पक्षलाई मिलाउने बिशेष जिम्मेवारी केन्द्रीय कमिटीले गौतमलाई दिएको स्रोतले बतायो । गौतमले एकताका लागि सहयोग गर्छु भन्ने प्रतिवद्धता जनाएको एक नेताको भनाई छ ।

‘माधव नेपालसहितको एकता हुनुपर्छ’

गौतमले एमालेमा माधव नेपालसहितको एकता हुनुपर्ने बाएका छन् । मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताउँदै उनले भने । ‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ । मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नु हुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’ बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए ।

एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने उनको भनाई छ । ‘हिजो केन्द्रीय कमिटी निर्वाचन हुँदा माधव कमरेडसँग जम्मा नौ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ,’ उनले भने । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने गौतमले बताए ।

‘सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं,’ गौतमले भने । पार्टी एकता पार्टीको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उनले बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको गौतमको निष्कर्ष छ ।

यस्तै गौतमले निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिने निर्णय खारेज गर्न माग गरेका छन् । बालुवाटारमा जारी बैठकले २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रचण्डलाई पनि ल्याउनै पर्छ !

गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो ।

गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने बताएका छन् । गौतमले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको कुरा दोहोर्‍याउँदै भने, ‘पार्टी एकता आजको मुख्य आवश्यकता हो । यसका लागि दुवै पक्ष लचक हुनैपर्छ । कसले हामीलाई छिन्नभिन्न पर्न खोज्दैछ भन्ने बुझ्न जरुरी छ ।’


प्रतिक्रिया दिनुहोस !