११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

अमेरिका र बेलायतले कोरोना खोप नदिएपनि चिनियाँ कम्पनीसँग सम्झौता, २४ गतेदेखि नियमित आउने



काठमाडौं : नेपाल सरकार र चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग खोप खरिदको बारेमा सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अघि नेपालले अमेरिका, भारत, बेलाय र रुसलाई कोरोना खोप उपलब्ध गराइ दिन आग्रह गरे पनि कुनै पनि रेसपोन्स नै गरेनन् । तर छिमेकी चीनले भने नियमित रुपमा खोप दिन नेपालसँग सम्झौता गर्न तयार भएको हो ।

अब राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउनेछ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ । खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुचारु हुने पनि प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसका साथै गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले जानकारी दिएको छ ।

यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ । हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ भने आजसम्म जनसंख्याको २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले (३ प्रतिशत) ले दोस्रो मात्रा कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !