१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मैले जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू हार्ने भए पनि पार्टीको महाधिवेशन गराएरै छाड्ने बताएका छन् । आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँगको छलफलमा सभापति देउवाले महाधिवेशन गर्न नसकेको कलंक बोक्न आफू तयार नरहेको बताएका हुन् । पदाधिकारी बैठकमा क्रियाशील सदस्यताबारे बनेको सहमतिको जगमा महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी आ–आफ्नो जिम्मेवारी पूरा गर्नपनि देउवाले निर्देशन दिए । ‘महाधिवेशन गर्नैपर्ने बाध्यता छ । म जिते पनि हारे पनि महाधिवेशन गराएरै छाड्छु । त्यसका लागि अब धमाधम काम हुनुपर्यो । जसले जे जिम्मेवारी पाउनुभएको छ बेलैमा सक्नुपर्यो’, देउवाले भने ।

उनले सदस्यता छानबिन समितिमा रहेका नेताहरुलाई अधिकतम सहमति जुटाउन र विवाद नटुंगिए स्थगित गरेर अगाडि बढ्नसमेत निर्देशन दिएका छन् । ‘जति कुरा मिल्छ मिल्छ । जहाँ मिल्दैन, त्यसलाई अर्को महाधिवेशनमा हेरौंला । अहिले महाधिवेशन रोक्ने स्थिति छैन’, देउवाले भने । सभापति देउवाले १४ औं महाधिवेशनमा दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् ।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा. प्रकाशशरण महत, सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक र सदस्यहरु रहेका थिए । बैठकमा क्रियाशील सदस्यताको सन्दर्भमा भएका कामबारे छलफल भएको छानबिन समितिको सदस्य समेत रहेका नेता श्यामकुमार घिमिरेले जानकारी दिए । ‘अहिलेसम्म भएका कामबारे जानकारी गराएका छौं । सभापतिजीबाट हिजोको सहमतिअनुसार काम सक्न निर्देशन प्राप्त भएको छ’, घिमिरेले नेपाल प्रेससंग भने । अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेको हकमा विवाद देखिए पार्टी नेतृत्व तहबाटै टुंगो लगाउने तयारी छ ।

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन कार्यतालिका अनुसार आइतबारसम्म क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई क्रियाशील सदस्यताको सूची बुझाउनुपर्नेछ ।कांग्रेसमा क्रियाशील सदस्यहरु तल्लो तहको अधिवेशनमा प्रत्यक्ष मतदाताका रुपमा रहेका छन् । वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि र क्षेत्रीय प्रतिनिधिबाट महाधिवेशन प्रतिनिधि चुनिने वैधानिक व्यवस्था छ । यसपटक कांग्रेसले क्रियाशील सदस्यहरुको संख्या १० लाख पु¥याउँदैछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय