११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

चीन प्रवेश गर्न लागेका तिब्बती शरणार्थीलाई पक्राउ गरि भारत पठाईयो



काठमाडौं : तातोपानी नाका हुँदै चीन जान लागेका एक तिब्बती शरणार्थीलाई नेपालले पक्राउ गरी भारत पठाएको छ । लुकिछिपी चीन प्रवेश गर्न खोज्ने क्रममा लोप्साङ टासीलाई प्रहरीले पक्राउ गरेको हो । १५ असारमा उनी पक्राउ परेकोमा १७ गते भारत पठाइएको छ । उनी विनापासपोर्ट र भिसा नेपाल प्रवेश गरेको भए पनि अनुसन्धान नै नगरी तिब्बती शरणार्थीका प्रतिनिधिको जिम्मा लगाई छाडिएको हो । प्रहरीले कारबाहीका लागि अध्यागमन विभागमा पठाएकोमा विभागले उनलाई भारत पठाउने सर्तमा जिम्मा लगाएको हो । उनीसँग भारतको रासनकार्ड भेटिएकाले भारतीय नागरिकका रूपमा उनलाई मुद्दा नचलाइएको अध्यागमन विभागका एक अधिकारीले बताए । उनी केही दिनअघि मात्र भारतबाट नेपालमा आएका थिए । एक उच्च प्रहरी अधिकारीका अनुसार उनीसहित ५–६ जना तिब्बती शरणार्थी अवैध रूपमा चीन प्रवेश गर्ने योजनाका साथ नेपाल आएको सूचना प्राप्त भएका थियो । तिनीमध्ये एक लोप्साङ हुन् ।

अध्यागमनको सोधपुछका क्रममा उनले तिब्बतमा रहेका आफ्ना आमा–बुबा भेट्का लागि भनेर आफू त्यसतर्फ जान लागेका बताएका थिए । नेपालमा पक्राउ पर्ने विदेशी नागरिकको हकमा जुन देशका नागरिक हुन् उनीहरूलाई सम्बन्धित देश निष्कासन गर्ने अध्यागमन कानुन भए पनि तिब्बती शरणार्थीलाई भने भारतमा पठाउने गरिएको छ । भारतको धर्मशालामा ठूलो संख्यामा तिब्बती शरणार्थीहरू बस्दै आएका छन् । सन् १९५० मा तिब्बतलाई चीनले नियन्त्रणमा लिएपछि करिब एक लाख ३० हजार तिब्बती नेपाल आएका थिए । ८० प्रतिशत भारत गएका थिए ।

सुरक्षा सतर्कता बढाइयो
निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको ८५औँ जन्मदिनमा चीनविरोधी गतिविधि हुन सक्ने आशंकामा उपत्यकामा सुरक्षा सतर्कता बढाइयो छ । चिनियाँ दूतावास तथा तिब्बती शरणार्थीको क्याम्प रहेका आसपासमा सुरक्षा सतर्कता बढाएको प्रहरीले जनाएको छ । ६ जुलाईमा १४औँ दलाई लामाको जन्मदिन हो । लामाको जन्मदिनको अवसरमा कुनै पनि सार्वजनिक कार्यक्रम रोक्न गृह मन्त्रालयले प्रहरी प्रशासनलाई निर्देशन दिएको स्रोत बताउँछ ।

नेपालमा करिब २० हजार तिब्बती शरणार्थी रहेको आकलन गरिएको छ । सन् १९९३ यता नेपालमा तिब्बती शरणार्थीको गणना भएको छैन । त्यसवेला १३ हजार पाँच सय १४ जना थिए । उपत्यकाका बौद्ध, स्वयम्भू, फर्पिङ, कपन, जावलाखेललगायत क्षेत्रमा उनीहरू बस्दै आएका छन् । विगतमा उनीहरूले स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधि गरेकाले उनीहरूमाथि सुरक्षा निकायले निगरानी राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !