७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तामाकोशीको सेयर मूल्य बिजुली बल्ने दिन भने घट्यो, कारोबार भने तेस्रो धेरै



४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिट टर्बाइन उद्घाटनकै दिन सेयर मूल्यमा भने झन्डै साढे तीन प्रतिशतले गिरावट आएको छ। जबकि, यसअघि बाढीले आयोजना प्रभावित गरेको बेलासमेत यसको सेयर मूल्य ४ प्रतिशतले बढेको थियो।

आइतबार कम्पनीको सेयर प्रतिकित्ता ७८४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोमबार भने एक समय प्रतिकित्ता ८२३ रुपैयाँ सम्म उक्लिए पनि समग्र बजार ऋणात्मक दिशामा नै रहेपछि तामाकोशीको मूल्य पनि ओरालो लागेको छ।

सोमबार तामाकोशीको मूल्य ७५८ रुपैयाँसम्म झरेको छ। गत बिहीबार ७६७ रुपैयाँमा अन्तिम कारोबार भएको तामाकोशीको सेयर मूल्य आइतबार १७ रुपैयाँले बढेर ७८४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोमबार भने यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य २६ रुपैयाँसम्म घटेको छ।

समाचार तयार पार्दासम्म सर्वाधिक कारोबार हुने कम्पनी हिमालयन डिस्टिलरीको सवा ३५ करोड रुपैयाँको सेयर किनबेच हुँदासम्म तामाकोशीको भने १२ करोड रुपैयाँको भएको छ। समग्र बजार करिब १३ अंकले घटेर २८२१ विन्दुमा चलिरहेको छ।

यस आयोजनाको पहिलो युनिटबाट सोमबार ७६ मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिंदै छ। १० वर्षभन्दा बढी समय लगाएर निर्माण भएको आयोजना सम्पन्न हुँदासम्म अनुमानित लागतभन्दा दोब्बरमाथि पुगिसकेको छ। ३५ अर्ब रुपैयाँ लागतमा पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको तामाकोशी निर्माण थालेको ११ वर्ष पुगिसक्दा एउटा युनिट बल्ने अवस्थामा आइपुग्दा ८५ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

आयोजनाको ६ वटै युनिट चलाएर ४५६ मेगावाट बिजुली उत्पादन गर्ने अवस्थामा पुग्दा लागत ९० अर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

अनुमानित लागतभन्दा ५० अर्ब बढी खर्च भइसकेकाले यो लागत उठाएर आयोजनाले सेयरधनीलाई लाभांश खुवाउन समय लाग्ने भएकाले बजार ओरालो क्रममा रहेका बेला सोही लक्ष्य पछ्याउँदै आयोजनाको सेयरमा आकर्षण कम भएको लगानीकर्ताको बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !