
काठमाडौं । पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको भन्दै कर्मचारीहरुले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को कार्यालयमा ताला लगाएका छन् ।
निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।
निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
नेपाल वायुसेवा निगममा विदेशी रणनीतिक साझेदार ल्याउने र निजीकरण प्रक्रियामा लैजाने गोप्य प्रयास भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेल, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरिया र नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्यहरूको गोप्य मिलेमतोमा निगमलाई निजीकरणको बाटोमा धकेल्ने प्रयास गरिएको हो ।
उनीहरूले निगमको भविष्यबारे जम्माजम्मी १५ दिनभित्र यी सबै निर्णय गरेका छन् । २८ जेठमा अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको बैठक बसेर निगमलाई निजीकरणको प्रक्रियामा लैजाने र विदेशी रणनीतिक साझेदार भित्र्याउने निर्णय गर्न निगमलाई निर्देशानात्मक निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा कर्मचारीहरुले ताला लगाएका हुन् ।