६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

धानको ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा वृद्धको हत्या



धानको ब्याडमा पानी लगाउने विषयमा भएको झगडामा पाँचथरको फिदिम नगरपालिका–४ कुमालेटोलका वृद्धको हत्या भएको खुलेको छ ।

अनुसन्धानका क्रममा फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई उक्त घटनामा संलग्न देखिएको आरोपमा प्रहरीले आज पक्राउ गरेपछि घटनाको कारण पत्ता लागेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार फिदिम–४ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बू र श्रेष्ठवीच जग्गाको साँधका विषयमा विवाद चल्दै आएको थियो । इङ्वाको हत्या भएको दिन गत जेठ २९ गते दिउँसोसमेत इङ्वा र श्रेष्ठबीच धानको ब्याड राख्न पानी लगाउने विषयमा झगडा भएको थियो । आवेशमा आई श्रेष्ठले इङ्वाको घरमै गई धारिलो हतियारले अनुहार तथा फलामको पाइपले टाउकोमा प्रहार गरेर छोडेर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।

इङ्वाको घरमा उनी र उनकी ८४ वर्षीय पक्षघात पीडित श्रीमती मात्रै बस्दै आएका थिए । अनुसन्धानकै क्रममा हत्याको घटनामा श्रेष्ठले लगाएका कपडा, हत्यामा प्रयोग भएको बामफोक र पाइप फेला परेपछि श्रेष्ठले उक्त घटना घटाएको निष्कर्षमा पुगेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

हत्यामा संलग्न श्रेष्ठ सडक विभागअन्तर्गतको यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डका रुपमा समेत काम गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !